चितवनमा मात्र आठ महिनामा २१४ दुर्घटना, ४९ जनाको मृत्यु


चालु आर्थिक वर्षको ८ महिनामा जिल्लामा २१४ दुर्घटना भएका छन् । जिल्लामा भएका दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको छ ।

ती दुर्घटनामा परी चार सय एक घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्लामा भएका दुर्घटनामध्ये सबैभन्दा धेरै भित्री सडकमा दुर्घटना भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार भित्री सडकमा एक सय छ वटा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम लोकमार्गमा ४८, नारायणगढ–मुग्लिन सडकखण्डमा ३७, पृथ्वी राजमार्गमा १४ र शहरी सडकखण्डमा नौ दुर्घटना भएको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङका अनुसार सवारी दुर्घटनामा परी मृत्यु हुनेमा सबैभन्दा बढी पुरुष रहेका छन् । चालीस पुरुषको मृत्यु भएको उनले जानकारी दिए । त्यस्तै पाँच महिला, दुई बालक र दुई बालिकाको पनि दुर्घटनामा परी मृत्यु भएको छ ।

घाइतेमध्ये एक सय २४ गम्भीर र दुई सय ७७ सामान्य रहेका छन् । दुर्घटनामा तीन सय २४ सवारी साधन परेको कार्यालयको तथ्याङ्कले देखाएको छ । दुर्घटनामा सबैभन्दा बढी एक सय ६५ मोटरसाइकल परेका छन् । जिपकार ५०, ट्रक ट्याङ्कर ४१, बस १९, शारीरिक शक्तिबाट चल्ने सवारी साधन १५, टेम्पो ११, माइक्रो बस आठ, टिपर पाँच, ट्याङ्कर छ र अन्य चार वटा रहेका छन् । तामाङले सवारी दुर्घटना घटाउनका लागि मानवीय त्रुटि न्यूनीकरण गर्न सचेतनाका कार्यक्रम सञ्चालन गर्ने योजनामा रहेको बताए ।

मानवीय त्रुटिसँगै मेकानिकल समस्या समाधानका लागि यातायात व्यवसायीसँग छलफल गरिँदै आएको उनको भनाइ छ । सडकका कारण पनि सवारी दुर्घटना हुने गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।