भ्रष्टाचार आरोपमा १२ जना विरुद्ध आरोप पत्र दायर


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ जना विरुद्ध भ्रष्टाचारको आरोप पत्र दायर गरेको छ ।

आयोगले कृषि ज्ञान केन्द्र, कालिकोटका प्रमुख भरत बहादुर बस्नेत लगायत १२ जनाविरुद्ध ६६ लाख ५० हजार रुपैयाँ बराबरको बिगो दावी गरी आरोप पत्र दायर गरेको हो ।

बस्नेतले उच्च प्रविधियुक्त नर्सरी स्थापनाको लागि वास्तविक फिल्ड अध्ययन नगरी भ्रष्टाचार गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेशमा गलत प्रतिवेदन पेश गरेका थिए ।

आरोप पत्र दायर हुनेमा मूल्याङ्कन तथा छनौट समितिका पदाधिकारीहरु हरिप्रसाद पण्डित, श्रीधर अधिकारी, दिपक कुमार भण्डारी, हिरानन्द देवकोटा, अनुप तिवारी, पूर्णबहादुर थापा, होमनाथ लम्साल, कृषि ज्ञान केन्द्र, कालिकोटका तत्कालीन निमित्त कार्यालय प्रमुख भरत बहादुर बस्नेत, खाँडाचक्र नगरपालिका, कालिकोटका तत्कालीन इन्जिनियर सुमित भट्ट र खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय, कालिकोटका तत्कालीन सव-इन्जिनियर गुरुराज संज्याल रहेका छन् ।

यस्तै सिमनाथ कृषि विकास सहकारी संस्था, कालिकोटका अध्यक्ष कमल बहादुर शाही, कोषाध्यक्ष सुरेन्द्र बहादुर शाहीविरुद्ध आरोप पत्र दायर भएको हो ।

आरोप पत्रमा संस्थागत पूर्वाधार नै तयार नभएको योजनाबाट ठुलो संख्यामा रोजगारी दिलाउने गलत आश्वासनसहितको प्रस्ताव तयार गरी तत्कालीन कृषि ज्ञान केन्द्रसँग सम्झौता गरेको भएपनि सम्झौता बमोजिम नर्सरी सञ्चालन नगरेको, आवेदन दिने समयमा कबुल गरेको बाली उत्पादन तथा रोजगारी समेत सिर्जना नगरी जालसाझीपूर्ण तवरले अनुदानको रकम भुक्तानी लिएको उल्लेख छ ।

उनीहरूविरुद्ध ६६ लाख ५० हजारबराबरको बिगो कायम गरी जरिवानाको सजाय मागदाबी सहित बिशेष अदालत, काठमाण्डौंमा आरोपपत्र दायर गरिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।