तीन महिनामा १० लाखभन्दा बढी नक्कली नोट बरामद


नेपाल प्रहरीले पछिल्लो तीन महिनामा १० लाख रुपैयाँ भन्दा बढी नक्कली नोट बरामद गरेको जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले मङ्सिर, पुस र माघ महिनामा उक्त परिमाणमा नक्कली नोट बरामद गरिएको जानकारी दिए ।

“प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार मङ्सिरपछि नेपाली नक्कली नोट कारोबारमा संलग्न २२ जना पक्राउ परेका छन् । गत मङ्सिरमा तीन जना पक्राउ परेका थिए । उनीहरुको साथबाट प्रहरीले एक हजार रुपैयाँका दरले २६ हजार रुपैयाँ र पाँच सय रुपैयाँ दरको चार हजार पाँच रुपैयाँ नक्कली नोट बरामद गरेको जनाएको छ ।

साथै पुसमा १७ पक्राउ परेका र उनीहरुको साथबाट रु एक हजार दरको पाँच लाख ३६ हजार रुपैयाँ बरामद गरिएको थियो । पुसमा पाँच सय, सय र ५० दरका पनि नक्कली नोट भेटिएको प्रहरीले जनाएको छ । माघमा एक हजार रुपैयाँ दरको चार लाख ४४ हजार रुपैयाँ नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।

काठमाण्डौंको कालोपुलबाट यही चैत १ गते नक्कली नोट कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले छ लाख ३६ हजार रुपैयाँ नक्कली नोट बरामद गरेको जनाएको छ ।

पक्राउ पर्नेमा रामेछापको खाँडोदवी गाउँपालिका–८ घर भएर काठमाण्डौं बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखाको भिमेश्वर नगरपालिका–७ घर भएर सतुङ्गल बस्ने २४ वर्षीय सुरेन्द्र कार्की रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।