विजय र कालिका लघुवित्तको सेयरमूल्य समायोजन


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विजय र कालिका लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कालिका लघुवित्तको १९ प्रतिशत र विजय लघुवित्तको २० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरेको हो ।

समायोजनपश्चात कालिका लघुवित्तको सेयर मूल्य ६५९ रुपैयाँ ६६ पैसा कायम भएको छ भने विजय लघुवित्तको सेयर मूल्य ६५८ रुपैयाँ ३३ पैसा कायम भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ  बिहीबार बुकक्लोज गरेसँगै नेप्सेले दुबै कम्पनीकाे बाेनस समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा कालिका लघुवित्तको सेयर प्रतिकित्ता ७८५ रुपैयाँ र विजय लघुवित्तको ७९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

विजय लघुवित्त वित्तीय संस्थाले चैत २८ गते, मंगलबार, विजय विकास स्रोत केन्द्र, गैडाकोट, नवलपरासीमा बिहान साढे ११ दशौँ वार्षिक साधारण सभा बोलाएको छ।  सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले नयाँ सारथी लघुवित्तसँग एक बराबर एक शेयर स्वाप अनुपातमा मर्ज हुने, मर्जर पश्चात एफपीओ निष्काशन गर्ने, संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

यसैगरी कालिका लघुवित्त वित्तीय संस्थाले चैत २९ गते, बुधबार, होटल टास्क इन्टरनेशनल प्रा।लि। को सभाहल, बुद्धचोक, पोखरामा बिहान ९ बजे तेह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यस्तै सभाले संस्थापक तथा सर्वसाधारण शेयर स्वामित्व परिवर्तन गरी संस्थापकको ५४.५२ प्रतिशत र सर्वसाधारणको ४५.४८ प्रतिशत कायम गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।