एनसेल बाह्रखरी गल्फ र आर्थिक परिसंवाद वैशाख ९ मा हुने, प्रथम पुरस्कार सुनको बल

0
Shares

बाह्रखरी मिडियाले बर्सेनि आयोजना गर्दै आएको बाह्रखरी कर्पोरेट गल्फ आउँदो वैशाख ९ मा हुने भएको छ । गल्फसँगै सोही दिन वृहत आर्थिक परिसंवाद कार्यक्रम पनि हुने आयोजक बाह्रखरी मिडियाले जनाएको छ ।

एनसेलको मुख्य प्रायोजन रहेको बाह्रखरी गल्फको यो छैछौं संस्करण हो । यसअघि यो प्रतियोगिता दुईपटक काठमाडौंसहित सोलुखुम्बुको कोङ्दे तथा पोखरा र धरानमा सम्पन्न भइसकेका छन् ।

प्रतियोगिताको शुभारम्भ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट गोकर्ण गल्फ कोर्स तथा गोकर्ण फरेस्ट रिसोर्टमा वैशाख ९ गते बिहान हुने जनाइएको छ ।

नेपालका व्यावसायिक र आर्थिक क्षेत्रका अग्रणी व्यक्तित्वलाई एकैथलोमा ल्याएर खेल प्रवर्द्धन र आर्थिक गतिविधि अभिवृद्धि गराउने उद्देश्य रहेको आयोजक बाह्रखरी मिडियाका प्रधान सम्पादक तथा कार्यकारी अध्यक्ष प्रतीक प्रधानले जानकारी दिए ।

“देशको आर्थिक दिशानिर्देश गर्ने परिसंवाद तथा प्रतिष्ठित कर्पोरेट क्षेत्रका व्यवसायीहरूले प्रतिस्पर्धा गर्ने गल्फ आयोजना एकैपटक आयोजना गर्न लागेका छौं,” प्रधानले भने, “गल्फ प्रतियोगिता मूलतः ‘कर्पोरेट’ व्यक्तित्वबीच हुनेछ भने आर्थिक परिसंवादमा देशभरबाट विशिष्ट व्यक्तित्व, अर्थविद्, बैंकर, उद्यमीलगायत व्यक्तित्वको सहभागिता रहनेछ ।”

कार्यक्रममा गोकर्ण गल्फका सिनियर गल्फ डाइरेक्टर दीपक आचार्यका अनुसार करिब सयजना गल्फरले भाग लिनेछन् । उनका अनुसार प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर, वीरगन्ज, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, धनगढीसहित केही विदेशी ‘कर्पोरेट’ गल्फर पनि उपस्थित हुनेछन् ।

गल्फ खेलको माध्यमबाट आर्थिक र सामाजिक सचेतना अभिवृद्धि गराउन बाह्रखरी मिडियाले हरेक वर्ष देशका फरक–फरक स्थानमा ‘कर्पोरेट गल्फ’ प्रतियोगिता गर्दै आएको कार्यक्रममा जानकारी दिइयो ।

‘कर्पोरेट’ क्षेत्रका खेलाडीबीच हुने यो प्रतियोगिता देशकै प्रतिष्ठित प्रतियोगिता भएको र यसका अल–राउन्ड विजेताले एक तोला सुनले बनेको गल्फ बल तथा अन्य पुरस्कार प्राप्त गर्नेछन् ।

कुनै प्रतियोगीले तोकिएको होलमा एकै सटमा लक्ष्य प्राप्त गरे भने ‘होल इन वन’ पुरस्कारका रूपमा ‘हुन्डे’ को ‘भेन्यू’ गाडी प्राप्त गर्नेछन् ।

गोकर्ण गल्फ क्लबको १८ होलमा स्टेबल फोर्ड फर्म्याटमा प्रतिस्पर्धा गर्नेछन् । यसको अर्थ कुनै पनि होलमा तोकिएको भन्दा बढी स्ट्रोक हान्न पाइने छैन । यस नियमले ठूलो प्रतियोगितामा समयको बचत गर्दछ ।

‘आर्थिक परिसंवाद’ कार्यक्रममा प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, गभर्नर, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका प्रमुख, पदाधिकारीसहित अर्थविद्, बैंकर, उच्च तहका कर्मचारी, व्यवसायीलगायत करिब चार सय पाहुना सहभागी हुने जनाइएको छ ।

कार्यक्रममा एकजना विज्ञबाट वर्तमान आर्थिक अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । विभिन्न क्षेत्रका विज्ञ तथा प्रमुख व्यक्तित्वको सम्बोधनपछि सरकारका प्रतिनिधिले जवाफ दिने कार्यक्रम छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।