प्रभु स्टिल एण्ड हाइड्रो इक्युपमेन्टले आईपीओ जारी गर्न माग्यो बिक्री प्रबन्धकको आवेदन


प्रभु स्टिल एण्ड हाइड्रो इक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेडले आइपीओ निष्काशन गर्ने प्रयोजनको लागी बिक्री प्रबन्धकको आवेदन माग गरेको छ ।

कम्पनीले आईपीओ निष्कासनको तयारीको लागि बिक्री प्रबन्धक कम्पनी नियुक्त गर्न सिलबन्दी बोलपत्र आह्वान गरेको हो । बिक्री प्रबन्धकले ९८ लाख कित्ता सेयर निष्कासन गर्न चाहिने प्रत्याभुकर्ता जुटाउने प्रतिबद्धता र आवश्यक सेवा शुल्क निर्धारण गरेको हुनुुपर्ने कम्पनीले जनाएको छ ।

उक्त कम्पनीको बिक्री प्रबन्धक हुन योग्य कम्पनी र संस्थाहरुले ४५ दिनभित्र शिलबन्दी बोलपत्र पेस गर्नु पर्नेछ । बोलपत्र फारम कम्पनीको उद्योगस्थित कार्यालय वा शाखा कार्यालयहरुबाट लिन सकिने छ ।

यस्तै शिलबन्दी फारमसँगै प्रभु स्टिल एण्ड हाइड्रो इक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेड कम्पनीको सनराइज बैंक तिनकुने शाखाको चल्ती खाता नम्बर ००६११८८९७९७०१००१ मा ३ हजार रुपैयाँ जम्मा गरेको बैंक भौचर आवेदन फारमसँगै पेश गर्नु पर्नेछ ।

जेठ २०७५ मा स्थापित यो कम्पनीको अधिकृत पूँजी २ अर्ब ५ करोड, जारी पूँजी २ अर्ब र चुक्ता पूँजी १०२ करोड रहेको छ । सार्वजनिक निष्कासन पछि कम्पनीको चुक्तापूँजी २ अर्ब पुग्नेछ । जसमध्ये २० लाख कित्ता सेयर प्रभु ग्रुप्सका प्रभु होल्डिङ्ग, प्रभु ऊर्जा कृषि पर्यटन बिकास लिमिटेड र हाइड्रो होल्डिङ्गस, कम्पनीका कर्मचारीहरुको लागि छुट्याउने कम्पनीले जनाएको छ । यस्तै २० लाख कित्ता नै उद्योग प्रभावित जिल्लावासीका लागि र ५८ लाख कित्ता म्युचुअल फन्ड र सर्वसाधारणका लागि छुट्याइने कम्पनीले जनाएको छ ।

कम्पनीले प्रिमियममा मूल्यमा आईपीओ जारी गर्ने जनाएको आईपीओ निष्कासनका लागि सम्पत्ति र दायित्वको मूल्यांकन गरिरहेको कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८\७९ मा ८ करोड ९० लाख भन्दा उत्पादन तथा बिक्री गरेको थियो । चालु आर्थिक वर्षमा करिब २० करोडको कारोबार गर्ने लक्ष्य लिएको र आर्थिक वर्ष २०८०\८१ मा वार्षिक १ अर्बको कारोबार गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २१ चैत २०७९, मंगलबार  १४ : ०७ बजे