अन्नपूर्ण र महालक्ष्मी चिनी उद्योगले दिएनन् किसानको भुक्तानी


सर्लाहीका दुईवटा चिनी उद्योगले किसानहरुको भुक्तानी दिन आलटाल गरेका छन् । उखु क्रसिङ सकेर बन्द भएका जिल्लाका अन्नपूर्ण र महालक्ष्मी चिनी उद्योगले किसानहरुको भुक्तानी दिन आलटाल गरेका हुन् ।

अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहलाई उखु दिएका किसानहरुले मिल बन्द भएको एक महिनासम्म पनि भुक्तानी नपाएको गुनासो गरेका छन् । अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवाल हुन् । यसअघि पनि किसानलाई १७ करोड भन्दा बढी भुक्त्तानी नदिए पछि २०७७ पुसमा प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो । महालक्ष्मी चिनी उद्योगका सञ्चालक वीरेन्द्र कनौडिया हुन् ।यसअघि पनि भुक्तानी नदिएको भन्दै किसानले उद्योगम तालाबन्दी गरेका थिए । कनौडिया नेपाली कांग्रेसका नेता समेत हुन् । यी दुवै उद्योगलगायत अन्य उद्योगीहरुले २०७७ पुसमा भुक्तानी नपाएको भन्दै राजधानीमा धर्ना समेत दिएका थिए । 

यी दुवै चिनी उद्योगबाट महिनौँसम्म भुक्तानी नपाउँदा किसानहरुले बर्सेनि आन्दोलन गर्दै आइरहेका गोडैता नगरपालिका–९, का किसान सीताराम यादवले बताए । उनका अनुसार सुरुमा केही किसानलाई भुक्तानी दिएर यी दुवै चिनी उद्योगका सञ्चालक अहिले आफूहरुसँग सम्पर्कभन्दा बाहिर रहेका हुन् ।

“सुरुमा केही किसानहरुलाई भुक्तानी दिइयो, त्यसपछि बाँकी किसानहरुको पैसा दिन चिनी उद्योगहरुले वास्तै गरेनन्”, गोडैताका अर्का किसान रामकिरण यादवले भने । चिनी उद्योग बन्द भएको एक महिनासम्म पनि उद्योगी सम्पर्कमा नआउँदा आफूहरुलाई व्यवहार धान्न गाह्रो परिसकेको किसान यादवले बताए ।

उद्योगले उखु बेचेको पैसा नदिँदा बालबालिकाको विद्यालयमा शुल्क बुझाउन मात्र नभई आफ्नो घरखर्चसमेत धान्न नसक्ने अवस्था आएको अर्का उखु उत्पादक किसान राजकरण यादवले बताए । “उखु खेतीबाटै व्यवहार चलाउने आफू जस्ता दर्जनौँ उखु उत्पादक किसानहरु उद्योगबाट पैसा नपाउँदा साहुमहाजनबाट ऋण लिन बाध्य भएका छन्”, राजकरणले गुनासो गरे ।

उखुको पैसा नपाउँदा उखु काट्ने, ढुवानी गर्ने ट्र्याक्टरको पैसा तिर्न नपाएको धनकौल गाउँपालिका–३, का उखु किसान रामस्वार्थ साहले गुनासो गरे । “उखु फलाउँदादेखि उद्योगसम्म लगेर बुझाउँदासम्मको उधारो छ तर उद्योगले कहिले पैसा दिन्छ भन्ने अयौल छ”, उखु किसान साहले भने ।

बेलैमा भुक्तानी नदिने समस्याका कारण पछिल्ला वर्षमा जिल्लाका किसानहरुले अन्यत्र ठाउँका चिनी उद्योग र सख्खर बनाउने उद्योगलाई उखु बेच्न थालेका उखु उत्पादक किसान राजकुमार उप्रेतीले बताए । उनका अनुसार पछिल्लो समय जिल्लाका उखु उत्पादक किसानहरु उखुभन्दा अन्य खेतीतर्फ समेत आकर्षित हुन थालेका छन् ।

जिल्लाका तीनवटा चिनी उद्योगमध्ये इन्दुशङ्कर चिनी उद्योग हरिवनबाट भने उखु किसानले भुक्तानी पाइरहेका भएपनि अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहले हरेक वर्ष उखु उत्पादक किसानलाई पैसा दिन आलटाल गरेको उत्पादक किसान महासङ्घ नेपालका अध्यक्ष कपिलमुनि मैनालीले बताए ।

जिल्लाका अन्य उद्योगले किसानको भुक्तानी समयमै नगर्दा उखु खेती घटेको र त्यसको प्रत्यक्ष प्रभाव इन्दुशङ्कर चिनी उद्योगलाई परेको उद्योगका प्रबन्धक योगनारायण रजकले बताए । रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ चैत्र २०७९, मंगलबार  १४ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।