चार दिनमा ५२ अंक घटेपछि नेप्सेमा हरियाली, कारोबार भने ५९ करोडमा सीमित

0
Shares

नेप्सेमा लगातार चार कारोबार दिनमा ५२.७४ अंकको गिरावटपछि पाँचौं दिन बुधबार हरियाली देखिएको छ । आज बजार सूचकमा ८.३९ अंकले बढेर १८७५.०७ बिन्दुमा पुगेको छ ।

साढे एक बजेपछि केही सुधार आएको बजार अन्तिममा वृद्धि भएपनि त्यसअघि सुस्त बन्दा कारोबार भने ५९ करोड ४० लाख १९ हजार ३४६ रुपैयाँमा समेटिएको छ । यसदिन २५७ कम्पनीको १९ लाख ५२ हजार ५७२ कित्ता सेयर १५ हजार ९६७ वटा संख्यामा खरिद बिक्री भएका छन् ।

कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये दश वटा बढेका छन् भने तीन वटा घटेका छन् । निर्जीवन बीमा सर्वाधिक ०.५२ प्रतिशतले घट्दा ब्यापार ०.४१ र उत्पादनमुलक ०.१० प्रतिशतले घटेको छ । आजको बजारमा होटल तथा पर्यटनमुलक सर्वाधिक १.०४ प्रतिशतले वृद्धि भएको छ भने लघुवित्त ०.८७, म्युचुअल फन्ड ०.६८, बैंकिङ्ग ०.६५ र लगानी ०.६० प्रतिशत बढेको छ ।

आजको बजारमा शिवम सिमेन्टसको सर्वाधिक ६ करोड ४३ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । यस्तै नबिल बैंक २ करोड ३५ लाख, गुराँस लाइफको २ करोड २१ लाख, एनआईसी एशिया बैंकको १ करोड ८६ लाख र हिमालयन डिष्टिलरीको १ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ ।

भर्खरै कारोबारमा आएको कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्य दश प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर २५.७० रुपैयाँ बढेर २८३ रुपैयाँ ५० पैसा पुगेको छ । विगत दश दिनअघि धितोपत्रको दोस्रो बजारमा कम्पनीको पहिलो सेयर कारोबार १३४ रुपैयाँ ४० पैसामा खुलेको थियो । यस्तै सानिमा ग्रोथ फन्डको इकाई ८.०७, लक्ष्मी लघुवित्तको ७.४१, समता लघुवित्त ६.२२ र गुराँस लघुवित्तको ५.८४ प्रतिशतले सेयरमूल्य बढेको छ ।

उता सिटिजन म्युचुअल फन्डको इकाईमूल्य ७.१४ प्रतिशतले घट्दा न्यादी हाइड्रोपावर ४.५८, सिटिजन म्युचुअल फन्डको इकाइृ ३.५६, श्वेतगंगा हाइड्रोपावर ३.२१ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २.६० प्रतिशतले सेयरमूल्य घटेको छ । सिद्धार्थ र प्रिमियर इन्सयोरेन्सबीच मर्जर सम्पन्न भएपछि कम्पनीको मंगलबारदेखि सेयर कारोबारमा आएको हो । कम्पनीको धितोत्रप एसपीआईएल सिम्बोलमा खरिद बिक्री भएको छ ।

बुधबारको कारोबारपछि समग्र बजार पुँजीकरण २७ खर्ब १६ अर्ब १६ करोड १ लाख रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।