नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई २०७९ अफर उपलब्ध गराउने भएको छ ।
यस अन्तर्गत कम्पनीले डाटा र भ्वाइससिहतको निःशुल्क सिम उपलब्ध गराउने छ । २०७९ चैत २४ देखि उपलब्ध हुने यो अफर ९० दिन उपलब्ध हुनेछ भने बोनस अन रिचार्ज ६ महिनासम्म उपलब्ध गराइने छ ।
उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क उपलब्ध हुनेछ । सिमकार्ड प्रयोगमा आउनासाथ ३० दिनसम्मका लागि विभिन्न अफरहरु उपलब्ध हुनेछन् । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरु उपयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले सिम कार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने १० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिन्छ । साथै एक महिनासम्म जम्मा ४० मिनेट अन नेट कल गर्न, ६० एमबी डाटा चलाउन र ३० वटा अन नेट एसएमएस सहितको सुविधा प्रयोग गर्न सक्नेछन् ।
यसका अतिरिक्त यसबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक २० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १ सय एमबी डाटा प्रयोग गर्न सकिने छ । यस अनुसार ३० दिनसम्म ३ हजार एमबी डाटा, ६ सय मिनेट टकटाइम र ३ सय वटा एसएमएसको सुविधा प्राप्त हुनेछ ।
नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरुले प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र अभिभावकको नागरिकता वा आफ्नो परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ ।
यस अफर अन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा ५० रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५ सय एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ । रिचार्जमा ६ महिनासम्म बोनस सुविधा प्राप्त हुनेछ र बोनस प्राप्त भएको तीन दिनभित्र प्रयोग गरिसक्नु पर्दछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया