मर्जर प्रस्ताव पारित गर्न मिर्मिरे र नेरुडे लघुवित्तले एकैदिन डाके विशेष साधारण सभा

0
Shares

नेरुडे र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बैशाख १० गते एकैदिन विशेष साधारण सभा आह्वान गरेका छन् ।एक आपसमा मर्जर तथा प्राप्ती प्रकृयामा रहेका दुबै लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त दिन सभा बोलाएका हुन् ।

मिर्मिरे लघुवित्तले काभ्रेको धुलिखेलस्थित होटेल सारथीमा मध्याह्न १२ः३० बजेदेखि तथा नेरुडे लघुवित्तले मोरङको विराटनगरस्थित उद्योग संगठनको सभा हलमा बिहान ११ बजे सुरु हुनेछ ।

विशेष साधारण सभाले मर्जर प्रयोजनका लागि निर्धारण गरिएको १ः१ अनुपातको सेयर स्वाप रेसियो अनुमोदन गर्ने, मिर्मिरे र नेरुडे लघुवित्तबीच मर्जरका सम्बन्धमा सञ्चालक समितिका तर्फबाट प्रस्तुत प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, मर्जर प्रक्रियाका क्रममा संयुक्त मर्जर समिति र सञ्चालक समितिहरुले गरेका निर्णय एवं कामकारबाही तथा अन्तिम सम्झौतापत्र लगायतका सम्पूर्ण प्रक्रिया सभाले अनुमोदन गर्नेछ ।

यस्तै मर्जरपछि संस्थाको नाम ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड’ र संस्थाको रजिष्टर्ड कार्यालय काभ्रेको बनेपामा तथा कर्पोरेट कार्यालय काठमाण्डौ उपत्यकाभित्र काठमाण्डौ र ललितपुर महानगरपालिकाबाहिर रहने प्रस्ताव सभाले पारित गर्नेछ ।

विशेष साधारणसभा प्रयोजनका लागि दुबै लघुवित्तले वैशाख ३ गते आइतबार (बुकक्लोज) मिति तोकेका छन् । बुकक्लोजको अनुसार चैत ३० गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम सेयरधनीहरुले मात्रै सम्बन्धीत कम्पनीको विशेष साधारण सभामा भाग लिन पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।