सेयर कारोबार ९१ करोडमा खुम्चियो, दुई कम्पनीमा सकारात्मक सर्किट

0
Shares

चfलु आवको तेस्रो त्रैमासिक अवधि समाप्त हुन लाग्दा सेयर बजारमा कारोबार रकम एक अर्बभन्दा थोरैमा समेटिएको छ । मसान्त नजिकिँदा बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएका लगानीकर्ताहरुलाई साँवा तथा बयाज बुझाउने चटारो रहेको छ ।

साताको दोस्रो सोमबार अघिल्लो कारोबारको दिनको तुलनामा नेप्सेमा सामान्य अंकको सुधार आएपनि कारोबार रकम भने २५ करोडले घटेको छ । आइतबार २८।३१ अंकले घटेर बन्द भएको सेयर बजार आज ५।५४ अंकले बढेको छ । यस्तै कारोबार रकम ९१ करोड १९ लाख ७६ हजार रुपैयाँमा समेटिएको छ । आइतबार १ अर्ब १५ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

नेप्से परिसूचक सोमबार बढेर १ हजार ८४४ दशमलव ०२ को बिन्दुमा पुगेको छ । त्यसैगरी, ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स ०.८८ अंकले उकालो लाग्दै ३४९ दशमलव ६६ को बिन्दुमा पुगेको छ । सोमबार २६१ कम्पनीको २९ लाख ६० हजार ८६३ कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबारमा आएको १५४ कम्पनीको सेयर मूल्य बढेको छ । ९३ कम्पनीको सेयर मूल्य घटेको छ भने १४ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबारमा आएका १३ वटा समूहगत उपसूचकहरु मध्य वित्त उपसमुहगत सूचक ०.२२ प्रतिशत घटेको छ भने बाँकी बाह्र वटै बढेको छ । होटल तथा पर्यटनमुलक १.७१ प्रतिशतले बढ्दा ब्यापार सूचक पनि १.३० प्रतिशतले बढेको छ ।

सामान्य बढेको बजारमा आजैदेखि कारोबारमा आएको सानिमा मिडिल तमोर हाइड्रोपावर र कालिन्चोक दर्शनको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सानिमा मिडिलको सेयर दश प्रतिशत बढेर प्रतिकित्ता ३२४.५० रुपैयाँ तथा कालिन्चोक दर्शनको ९.९७ प्रतिशत बढेर ३७७.१० रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ । बाराही हाइड्रोपावरको ५.८८ प्रतिशत, मन्दाकिनी हाइड्रोपावरको ४.५६ प्रतिशत र शुभम पावर कम्पनीको ४.२७ प्रतिशतले बढेको छ ।

सोमबारको बजारबाट ग्लोबल आइएमई लघुवित्तका सेयरधनीकरुले सबैभन्दा बढी ६.५४ प्रतिशतले गुमाएको छन् । कम्पनीको सेयर मूल्य घटेर ८०० रुपैयाँमा झरेको छ । यस्तै बलेफी हाइड्रोपावरको ५.२५, इष्टर्न हाइड्रोपावरको ३.९९, मैलुङ्गखोला हाइड्रोपावरको ३.३७ र युनिक नेपाल लघुवित्तको ३.०६ प्रतिशतले घटेको छ ।

शिवम् सिमेन्ट आजको कारोबार रकमको आधारमा शीर्ष स्थानमा छ । सिमेन्टको ६ करोड ८४ लाख १८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएका छन् । त्यसैगरी, सानिमा मिडिल तमोर हाइड्रोपावरको ६ करोड ६५ लाख ६८ हजार, एनआइसी एशिया बैंकको २ करोड ७० लाख २७ हजार, नबिल बैंक २ करोड ७० लाख २७ हजार र हिमालयन डिष्टिलरीको २ करोड २४ लाख ९५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।