कर बुझाउन १४९ कम्पनीलाई राजस्व कार्यालयको ताकेता


आन्तरिक राजस्व कार्यालय नयाँ सडकले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने कम्पनी र सञ्चालकको नाम सार्वजनिक गरेको छ ।

कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै विभिन्न मितिमा पत्राचार, फोन सम्पर्क तथा सङ्कलन भ्रमणका माध्यमबाट आयकर र मूल्य अभिवृद्धि कर दाखिला गर्न आग्रह गर्दा पनि सम्पर्कमा नआएपछि कम्पनी र सञ्चालकको नामसहित सार्वजनिक सूचना जारी गरेको हो ।

मूल्य अभिवृद्धि करतर्फको बक्यौता दाखिला नगर्ने ८५ र आयकर नतिर्ने ५० करदाता र मूल्य अभिवृद्धि कर र आयकर दुवै नतिर्ने १४ कम्पनी कम्पनीको नाम सार्वजनिक गरेको छ ।

जसमा राजेश श्रेष्ठ सञ्चालक रहेको विरा मोर्टर्स प्रा.लि, विरेन्द्र कुमार सञ्चालक रहेको बि एण्ड बि ट्रेडिङ कम्पनी प्रा. लि, सक्तोज अधिकारी सञ्चालक रहेको धरहरा फुड एण्ड क्याफेलगाएत रहेका छन् । यी कम्पनीहरुले मुल्य अभिवृद्धि कर तिर्न बाँकी छ ।

यस्तै मूल्य अभिवृद्धि कर र आयकर दुवै नतिर्नेमा नरेन्द्र राज हमाल सञ्चालक रहेको हमाल ओभरसीज प्रा.ली, हितेष गोल्छा सञ्चालक रहेको फर्निचर २००० प्रा लि जे भी आउस अफ ईन्टिरियर्स लगाएत रहेका छन् । यस्तै आगकर मात्र नतिर्नेमा कालु गुरुङ सञ्चालक रहेको रञ्जना ट्रेड सेन्टर प्रा ली, निलहरी प्रसाद उपाध्ययद्वारा सञ्चालित शुक्रपथ बहुउद्देश्य सहकारी संस्था लिमिटेडलगायत रहेका छन् ।

सूचनामा १५ दिनभित्र बक्यौता दाखिला गरी सोको प्रमाण आन्तरिक राजस्व कार्यालयमा पेस गर्न भनिएको छ । आयकर ऐन, २०५८ को दफा १०४ मा कुनै व्यक्तिले कर दाखिला गर्ने मितिसम्म सो कर दाखिला नगरेमा नेपाल सरकारले व्यक्तिको सम्पत्ति माथि दाबी गर्ने, दफा १०४ मा दाबी गरेको सम्पत्ति लिलाम बिक्री गर्नेदेखि दफा १११ मा कर असुलीका लागि जिल्ला अदालतमा मुद्दा दायर गर्नेसम्मको व्यवस्था छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।