उद्योग वाणिज्य महासंघको मतदान जारी


उद्योगी व्यवसायीका छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि आज बिहान ८ बजेदेखि मतदान जारी छ ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको मतदान अपराह्न ४ बजेसम्म मतदान हुनेछ ।

महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेकाले अब एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चयन गर्न मतदान हुनेछ। वरिष्ठ उपाध्यक्षका कुनै पनि उम्मेदवारले निर्वाचित हुन पहिलो चरणमा ५० प्रतिशत मत ल्याउन नसके दोस्रो चरणको निर्वाचन चैत ३० गते बिहान ११ बजेदेखि ५ बजेसम्म निर्वाचन हुनेछ ।

महासंघको विधान अनुसार हाल वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ३० चैतदेखि स्वतः महासंघको अध्यक्ष बन्नेछन् ।

अर्को कार्यकालमा महासंघको नेतृत्व लिने वरिष्ठ उपाध्यक्षमा तीन जना प्यानलसहित प्रतिस्पर्धामा छन् । पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, हालका एसोसिएट्स र वस्तुगत उपाध्यक्षद्वय रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका हुन् ।

कार्यसमिति सदस्यमा लुम्बिनी प्रदेशबाट जम्शेर मिया, द्विराष्ट्रिय उद्योग वाणिज्य संघको तर्फबाट सुनिल केसी, संस्थापक सदस्यको तर्फबाट भीष्मप्रसाद न्यौपाने र सुदूरपश्चिम प्रदेशको तर्फबाट जंगबहादुर मल्ल सर्वसम्मत भइसकेका छन् ।

मतदान र मतगणना स्थलमा वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारले तीन–तीन जना प्रतिनिधि राख्न सक्नेछन् । एसोसिएटका समुहका लागि ३ वटा र जिल्ला–नगर तथा वस्तुगत संघ समूहका लागि १।१ वटा मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन समितिको कार्यालयका अनुसार एसोसिएट समूहका सबै पदका लागि सेतो रङ्गको र जिल्ला–नगर समूहका सबै पदका लागि रातो र वस्तुगत समूहका सबै पदका लागि निलो रङ्गको मतपत्र निर्धारण गरिएको छ । प्रदेश सदस्य र संस्थागत समूह सदस्य पदको मतपत्र भने पहेँलो रंगको हुनेछ ।

महासंघको निर्वाचनमा हरेक संघको मतभार फरक-फरक हुन्छ । जसअनुसार जिल्ला–नगर उद्योग संघको ५०, वस्तुगतको २० तथा द्विराष्ट्रिय र एसोसिएटको समान १५–१५ प्रतिशत मतभार रहन्छ । जिल्ला–नगर उद्योग वाणिज्य संघतर्फ १२१, वस्तुगततर्फ १२३, द्विराष्ट्रियतर्फ १२ र एसोसिएटतर्फ १७६२ गरी कुल २०१८ सदस्य छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।