अख्तियारको दायरा विस्तारले निजी क्षेत्र हतोत्साहित, आर्थिक विस्तारमा प्रतिकूल असर


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान क्षेत्राधिकारमा निजी क्षेत्रलाई पनि राख्दा आर्थिक विकास विस्तारमा प्रतिकुल असर पर्ने भन्दै नीजि क्षेत्र एक भएका छन् । निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएका हुन् ।

राष्ट्रिय सभाबाट पारित ‘अख्तियार दुरुपयोग अनुसन्धानआयोग ऐन, २०४८’ लाई संशोधन गर्न बनेको विधेयकको दफा २ को परिभाषा खण्डमा “…प्रचलित कानुन बमोजिम स्थापित कम्पनी, प्रतिष्ठान, बैंक, मेडिकल कलेज र सोसँग सम्बन्धित अस्पताल वा यस्तै प्रकृतिका अन्य कुनै संगठित संस्था” लाई सार्वजनिक संस्थाको परिभाषा भित्र राखिएको छ ।

कम्पनी, प्रतिष्ठान, बैंक, मेडिकल कलेज, संगठित संस्था लगायतलाई अख्तियारको अनुसन्धान दायरामा ल्याइनु संविधानको मर्मविपरित हुनुका साथै यस्तो अभ्यासले निजी क्षेत्रलाई निरूत्साहित बनाउने निजी क्षेत्रको ठहर छ ।

निजी क्षेत्रको काम कारवाहीलाई नियमन गर्न नेपाल राष्ट्र बैंक, सम्पत्ति शुद्धिकरण अनुसन्धान आयोग, राजस्व अनुसन्धान विभाग लगायत दर्जन बढी विद्यमान नियामक निकायहरू सक्रिय छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरा समेत निजी क्षेत्रको नियमनसम्म बढाउँदा यसले निजी क्षेत्रको कामलाई प्रभावित पार्ने मात्र नभई देशकै समग्र आर्थिक विकास तथा विस्तारमा प्रतिकूल असर पु¥याउने निजी क्षेत्रको बुझाई छ ।

हाल सार्वजनिक निकायमा कर्मचारीतन्त्रले समेत अख्तियारको त्रासमा कतिपय महत्वपूर्ण निर्णयहरु लिन हिच्किचाउने गरेको अवस्था रहेको समेत निजी क्षेत्रले जनाएको छ । यसले नीतिगत काम कारबाहीको चुस्ततामा समेत प्रतिकूल असर परिरहेको उनीहरुको भनाई छ ।

मुलुकको समृद्वि पूरा गर्न निजी क्षेत्रलाई प्रोत्साहन, सरल एवं सहज प्रशासनिक सेवा–सुविधा, सुशासन, लगानी तथा व्यवसाय मैत्री नीतिगत वातावरण निर्माण लगायतको आवश्यकतालाई निजी क्षेत्रले औंल्याएको छ । अहिले लागू गर्न खोजिएको पछिल्लो व्यवस्थाले मुलुकको विकासको महत्वपूर्ण साझेदार निजी क्षेत्रको उत्पादकत्व घट्ने, वैदेशिक लगानी आकर्षित गर्न थप जटिल हुने, बेथिती अझ मौलाउने र निजी क्षेत्रलाई हतोत्साहित बनाउने निजी क्षेत्रको निष्कर्ष छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ