बारा–२ बाट उपेन्द्र यादव विजयी


बारा निर्वाचन क्षेत्र नम्बर–२ बाट जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव निर्वाचित भएका छन् ।

उनले २८ हजार ४१४ मत प्राप्त गरी निर्वाचित भएका हुन्। यादव पाँच हजार ८० मतको अन्तरमा विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत प्राप्त गरेका थिए ।

तेस्रो स्थानमा नेकपा एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६ मत ल्याए। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का रमेशप्रसाद खरेल २ हजार ८२९ मतका साथ चौथो भए । एक लाख पाँच हजार २४८ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा ६९ हजार १०७ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यसमध्ये ३७ हजार ४९ पुरुष र ३२ हजार ५८ महिलाको मत खसेको थियो।

वैशाख १० गते भएको उपनिर्वाचनमा ६५ प्रतिशत मतदान भएको थियो। यसअघि मंसिर ४ गते भएको संघीय निर्वाचनमा बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि खाली भएको यो क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन भएको थियो । उपनिर्वाचन भएका अन्य दुई क्षेत्रबाट रास्वपाका उम्मेदवार विजयी भइसकेका छन् । चितवन क्षेत्र नम्बर २ बाट रास्वपा सभापति रवि लामिछाने र तनहुँ क्षेत्र नम्बर १ बाट रास्वपाका डा. स्वर्णिम वाग्ले विजयी भएका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।