बहुर्राष्ट्रिय कम्पनी डाबर नेपाललाई थप साढे ९ अर्ब लगानी गर्न बाटो खुल्यो

0
Shares

बहुर्राष्ट्रिय कम्पनी डाबर नेपाल प्रालिले नेपालमा थप साढे ९ अर्ब बढी लगानी कार्यान्वयन गर्ने बाटो खुल्ला भएको छ। थप ९ अर्ब ६८ करोड पुर्नलगानीका लागि डाबर नेपाल र लगानी बोर्डबीच आज समझदारी भएको छ।

लगानी बोर्डको कार्यालयमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री तथा लगानी बोर्डका सदस्य रमेश रिजालको उपस्थितिमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डाबर नेपालका बिजनेस हेड हरकिरत सिंह वेदीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

लगानी बोर्ड नेपाल र बहुराष्ट्रिय कम्पनी डाबर नेपालबीच निजी लगानी अवधारणामा क्षमता अभिवृद्धि तथा वस्तु विविधीकरण परियोजनाको निर्माण, सञ्चालन र व्यवस्थापन गर्न पुनर्लगानीका रुपमा लगानी हुने परियोजनाको समझदारी पत्रमा बिहीबार हस्ताक्षर भएको हो।

उद्योगको क्षमता अभिवृद्धि तथा उत्पादन विविधीकरणको लागि लगानी बोर्डको ४९ औँ बैठकले २०७८ माघ २५ मा सम्पन्न बैठकले लगानी स्वीकृत गरेको थियो। कोरोनाको दोस्रो लहर अघि नै डाबरले नेपालमा लगानी थप गर्नका लागि अनुमति माग गर्दै प्रस्ताव गरेको थियो।

हस्ताक्षरपछि डाबर नेपालका वेदीले नेपालमा आर्जित पुँजीको केही हिस्सा उद्योगको क्षमता विस्तार र पुँजीवृद्धिमा लगानी गर्न पाउँदा हर्षित भएको बताए।
बोर्डका प्रमुख कार्यकारी भट्टले डाबर नेपालबाट हुनलागेको पुनर्लगानीले लगानीकर्ताको नेपालप्रतिको विश्वास, भरोस र व्यवसाय विस्तारको प्रचुर सम्भावनालाई देखाएको बताए।

त्यस्तै मन्त्री रिजालले यसले लगानीकर्तामाझ ठूलो सन्देश प्रवाहित हुने बताउँदै नेपालमा लगानी गर्न चासो राख्ने विदेशी लगानीकर्ताले नेपालमा लगानी गरिरहेकै लगानीकर्ताबाट सुन्न र यहाँ सञ्चालित व्यवसाय हेरेर निर्णय लिनसक्ने बताए।

काठमाडौंमा कर्पोरेट कार्यालय रहेको डाबर नेपालमा ९७.५० प्रतिशत डाबर इन्डियाको स्वामित्व छ भने नेपाली साझेदारको २.५ प्रतिशतमात्र स्वामित्व रहेको छ। डाबरले नेपालमा रियल जुस, डावर च्यवनप्रास, डावर रेड टुथपेस्ट, हाजमोला, डावर अमला हेयर अयल, डावर हनी, डावर ग्लुकोज डी, गुलाबरी, फेम, प्रोइस्टाइल, ओडोनिल, ह्यान्डवास लगायत उत्पादनहरु उत्पादन तथा बिक्री गर्दै आएको छ।

गएको आर्थिक वर्षमा कम्पनीले १३ अर्ब आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा २१ प्रितशत धेरैं हो। अघिल्लो वर्ष कम्पनीले १० अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको थियो।

भारत बाहेक डाबरले नेपाल, श्रीलंका, टर्की, बांगलादेश, युएइ, इजिप्ट, नाइजेरिया र दक्षिण अफ्रिकामा उत्पादन प्लान्ट राखेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।