निजी क्षेत्रको समस्या समाधानका लागि छाता संगठनहरु एक हुनुपर्छ: परिसंघ अध्यक्ष अग्रवाल

0
Shares

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले वर्तमान अवस्थामा निजी क्षेत्रले भोग्दै आएका समस्या समाधानका लागि निजी क्षेत्रका छाता संगठनहरु एक हुनुपर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका नयाँ कार्यसमितिको स्वागतका लागि शुक्रबार परिसंघमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्र सुधार, निजी क्षेत्रमैत्री ऐन, नियम निर्माणका लागि सहकार्य गर्दै सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउनुपर्ने उल्लेख गरे ।

सो अवसरमा अध्यक्ष अग्रवालले परिसंघ र महासंघले विद्यमान अर्थतन्त्रको समस्या समाधानका लागि सहकार्य गर्ने ऐक्यबद्धता व्यक्त गरेका छन् उनले आगामी दिनमा पनि अर्थतन्त्र सुधार सहित लगानीमैत्री वातावरण निर्माणका लागि एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । परिसंघका वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवालले थप प्रभावकारी रुपमा निजी क्षेत्रका समान समस्या समाधानका लागि समान समाधानका उपायहरु खोज्नुपर्ने बताए ।

यस्तै कार्यक्रममा परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले विद्यमान अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न यथार्थपरक समाधानका उपायहरु सहित सरकारलाई सुझाउनुपर्ने बताए ।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले संगठित रुपमा उठाएका विषयहरुलाई सरकारले गम्भिरता पूर्वक लिएको बताए । निजी क्षेत्र एक भएर समान उद्देश्यका साथ अगाडि बढे विद्यमान अर्थतन्त्रको चुनौती सामना गर्न सहज हुने ढकालले बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए ।

महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्षहरु सुरकृष्ण वैद्य, ज्योत्सना श्रेष्ठ, हेमराज ढकाल सहित कार्यसमिति सदस्यहरुलाई परिसंघले स्वागत कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा परिसंघका उपाध्यक्ष हेमराज ढकाल, परिसंघ गभर्निङ्ग काउन्सिल सदस्य शिवरतन सारडा, योगेश्वरलाल श्रेष्ठ लगायत सहभागि थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।