होटल व्यवसायलाई उद्योग सरहको मान्यता दिन व्यवसायीको माग


होटल तथा पर्यटन व्यवसायलाई उद्योग सरह मान्यता दिनुपर्ने होटल तथा पर्यटन व्यवसाय सङ्घ वीरगञ्जले सरकारसँग आग्रह गरेको छ ।

सङ्घका अध्यक्ष हरि पन्त नेतृत्वको होल तथा पर्यटन व्यवसायीको टोलीले सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई आइतबारज्ञापनपत्र बुझाउँदै यस्तो आग्रह गरेको हो ।

मुलुकको आर्थिक विकासमा होटल तथा पर्यटन व्यवसाय क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको भन्दै होटल तथा पर्यटन व्यवसायीले यस क्षेत्रको विकासका लागि उद्योग सरहको मान्यता दिनुपर्ने माग गरेका छन् । उद्यम र रोजगारीको भरपर्दो स्रोत तथा वैदेशिक मुद्रा आर्जनको उपयुक्त माध्यम होटल तथा पर्यटन व्यवसाय भएकोले यसको विकासका लागि उद्योग सरहको मान्यता दिनुपर्ने माग आफूले मन्त्रीसमक्ष गरेको सङ्घका अध्यक्ष पन्तले जानकारी दिए ।

होटल तथा पर्यटन व्यवसायले उद्योग सरहको मान्यता प्राप्त गरेपछि सहुलियत र सुविधाहरू पनि पाउने भएकाले यसबाट होटल तथा पर्यटन व्यवसायलाई तङ्ग्रिन र विकास गर्नमा मद्दत मिल्ने अध्यक्ष पन्तको भनाइ छ । होटललाई उद्योग सरह मान्यता दिएको खण्डमा व्यवसायीले राज्यबाट विभिन्न सुविधा प्राप्त गर्ने भएको हुनाले व्यवसायीलाई प्रोत्साहन मिल्ने उनले बताए ।

ज्ञापनपत्र बुझ्दै मन्त्री रिजालले छिट्टै नीतिगत र प्रक्रियागत अड्चनलाई सच्याएर होटल तथा पर्यटन क्षेत्रलाई पनि उद्योग सरह मान्यता दिलाउनेमा प्रतिबद्ध रहेको बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।