प्याराग्लाइडिङले पर्यटन प्रवद्र्धनमा मद्दत पुग्छ : प्रधानमन्त्री दाहाल


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाइडिङले ठूलो मद्दत पुग्ने बताएका छन् ।

हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको प्याराग्लाइडिङको आज उद्घाटन गर्दै उनले चितवनको पर्यटनलाई यसले थप टेवा पुग्ने बताएका हुन् ।

उनले भने, “चितवनमा पर्यटन विकासका लागि प्याराग्लाइडिङले थप मद्दत पुग्छ ।” प्याराग्लाइडिङ साहसी पर्यटकका लागि महत्वपूर्ण खेल भएको उनले बताए । उनले भने, “यो खेल सुरक्षित र साहसी खेल हो ।” आफु पनि मौका मिलाएर यहाँ आएर खेल्ने उनले बताए ।

साहसी खेलमध्ये सुरक्षित मानिएको प्याराग्लाइडिङ भएको उनको भनाइ थियो । युवा उद्यमीको पहलमा भएको यस कार्यले खुसी लागेको उनले बताए । नेपालले अन्तराष्ट्रियस्तरमा पर्यटनको क्षेत्रले नयाँ उत्पादन दिन सक्ने गरि यो खेल आएको उनले बताए । पर्यटकीय दृष्टिले तेस्रो स्थानमा रहेको चितवनमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ प्याराग्लाइडिङको वैशाख १ गते देखि व्यावसायिक उडान सुरु गरिएको हो ।

जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्यका रुपमा प्याराग्लाइडिङ सुरु गरिएको कम्पनीका अध्यक्ष विजयबहादुर घलेले जानकारी दिए । भरतपुर महानगरपालिका–२९ चौकीडाँडामा साहसिक खेलको रूपमा चिनिने प्याराग्लाइडिङको उडान सुरु गरिएको हो । जङ्गल सफारीका लागि चितवन आउने पर्यटकलाई नयाँ गन्तव्यका रुपमा बसाइँ लम्ब्याउन सकिने गरी प्याराग्लाइडिङ सुरु गरिएको उनले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।