डाटा सेन्टरमा समस्या आएकोले पुनः दरखास्त दिन लोक सेवा आयोगको आह्वान


लोक सेवा आयोगले मंसिर, पुष र माघ महिनामा दरखास्त दिइ परीक्षा दस्तुर बुझाएका उम्मेदवारहरूलाई पुनः दरखास्त दिन आह्वान गरेको छ ।  आयोगले सरकारी एकीकृत डाटा सेन्टरमा समस्या आएकाले दरखास्त स्वीकृत भएका र स्वीकृत हुन बाँकी सबै उम्मेदवारहरूलाई दरखास्त दिन आह्वान गरेको हो ।

मंसिर, पुष र माघ महिनामा प्रकाशित विज्ञापनहरूमा दरखास्त दिइ परीक्षा दस्तुर बुझाएकाले मात्र पुनः दरखास्त दिन पाउने छन् ।

सम्बन्धित उम्मेदवारहरुले जेठ १८ गतेभित्र पुनःदरखास्त पेश गरी सक्नु पर्नेछ । दरखास्तका शर्तहरु पूर्व प्रकाशित विज्ञापनमा उल्लेख भए बमोजिम नै हुने आयोगले जनाएको छ । पुनःदरखास्त आह्वान गरिएका विज्ञापनहरुमा साविकमा जुन समूहको विज्ञापनमा आवेदन गरिएको हो सोही समूहको विज्ञापनमा मात्र आवेदन गर्नुपर्नेछ ।

पुनः दरखास्तको लागि आयोगको अनलाइन दरखास्त प्रणाली www.psconline1.psc.gov.np मा लगईन गरी पुनःदरखास्त (Re-Application) मेनुमा क्लिक गरी दिईएको निर्देशन अनुसार यसपूर्व आफुले दिएको दरखास्त सम्बन्धी विवरण अध्यावधिक गर्नुपर्ने छ।

यसपूर्व दरखास्त पेश गर्ने कुनै उम्मेदवारको प्रोफाइल आयोगको दरखास्त प्रणालीमा उपलब्ध नभई लगईन नभएको अवस्थामा त्यस्ता उम्मेदवारले साविकमा दरखास्त पेश गर्दा आपूmले उल्लेख गरेको मोबाइल नम्बर प्रयोग गरी नयाँ प्रोफाइल खोली पुनःदरखास्त पेश गर्नुपर्नेछ ।

पुनःदरखास्त पेश गर्ने उम्मेद्वारले दरखास्त दस्तुर बुझाउनु नपर्ने सूचनामा उल्लेख छ । यस पूर्व उम्मेदवारले दरखास्त दस्तुर बुझाएको राजस्व सम्बन्धी विवरण राजस्व व्यवस्थापन सूचना प्रणाली (RMIS) बाट प्राप्त गरी अनलाइन दरखास्त प्रणालीमा अध्यावधिक गरिसकिएको हुँदा पुनःदरखास्त पेश गर्ने उम्मेद्वारले दरखास्त दस्तुर बुझाउनु नपर्ने भएको हो । दरखास्त दस्तुर बुझाउन बाँकी रहेका उम्मेद्वारले पुनः दरखास्त पेश गरी दस्तुर बुझाउन सक्ने छन् । 

यस्तै आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) नायव सुब्बा वा सो सरह र स्वास्थ्य सेवाका पाँचौ तहका पदका लागि फागुन २५ गते खुलाइएको विज्ञापनको दोब्बर दस्तुरको म्याद कायम रहँदै आयोगको दरखास्त प्रणाली अवरुद्ध हुन गएकोले दरखास्त बुझाउन बाँकी उम्मेदवारहरुका लागि पुनःदरखास्तको अवधि समाप्त भए पश्चात् निश्चित अवधि तोकी अर्को सूचना मार्फत दरखास्त आव्हान गरिने आयोगले जनाएको छ ।  

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।