थ्रीस्टार हाइड्रोपावरको आइपीओमा वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिने आज अन्तिम दिन, स्थानियका लागि म्याद थप


थ्रीस्टार हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आजसम्म मात्र आवेदन दिन पाउने छन् भने आयोजना प्रभावित क्षेत्रमा बासिन्दाका लागि म्याद थप गरिएको छ ।

कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुन आउने १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका १२ लाख ३१ हजार २५० कित्ता साधारण सेयर सर्वसाधारणको लागि निष्कासन गरेको थियो ।

जसमध्ये १० प्रतिशतले हुन आउने ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका ४ लाख ९२ हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेको हो । यस्तै कम्पनीले सर्वसाधारणमा जारी गर्ने ७ करोड ३८ लाख ७५ हजार रुपैयाँ बराबरको ७ लाख ३८ हजार ७५० कित्ता बराबरको १० प्रतिशतले हुन आउने ७३ हजार ८७५ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको हो ।

कम्पनीको आइपीओमा स्थानिय बासिन्दाले जेठ २ गतेसम्म आवेदन दिन सक्ने छन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज बैकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रमा बासिन्दाका लागि जारी हुने आईपीओमा खोटाङ जिल्लाको प्रभावित क्षेत्र हलेसी तुवाचुङ नगरपालिका वडा नं. १ देखि ११ (साविकको बाहुनीडाँडा, डिकुवा, च्याम्सिटार, बडहरे, दुर्छिम, मंगलटार, महादेवस्थान, धितुङ, सल्ले, अर्खले र राजापानी गा.वि.स.) र दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. १ देखि ७ (साविकको याम्खा, डाडागाँउ, छोरम्बु, बतासे, सचिता पोखरी, छिता पोखरी र टेम्मा गा.वि.स.) का स्थानिय वासिन्दाले आवेदन दिन पाउनेछन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले न्यूनतम १० देखि अधिकतम ४ लाख ९२ हजार ५०० कित्ताका लागि आवेदन दिन पाउनेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ताका देखि अधिकतम ७३ हजार ८७५ कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई ’इक्रा एनपी इस्यूअर रेटिङ्ग बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

उक्त आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सानिमा बैंक, राष्टिय वाणिज्य बैंक, ग्लोबल बैंक, ज्योति विकास बैंक, प्रभु बैंकको खोटाङ शाखा कार्यालय र थ्री स्टार हाइड्रोपावर लिमिटेडको कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी, वैदेशिक रोजगारमा रहेको नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।