उपत्यकामा आठ सवस्टेसन निर्माणाधीन


नेपाल विद्युत् प्राधिकरणले काठमाण्डौं उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि उच्च क्षमताका आठ सवस्टेसन निर्माण गरिरहेको छ । काठमाण्डौं उपत्यकामा चार सयदेखि एक सय ३२ केभी क्षमताका सवस्टेसन निर्माणाधीन रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

भविष्यमा वृद्धि हुनसक्ने विद्युत्को सम्भावित मागलाई सम्बोधन गर्न प्राधिकरणले सन् २०५० को समयसीमा निर्धारण गरी काठमाण्डौं उपत्यकाका प्रमुख क्षेत्रमा चरणबद्धरुपमा प्रसारण तथा वितरण पूर्वाधार निर्माण प्रक्रिया अगाडि बढाएको छ ।

सन् २०५० सम्ममा काठमाण्डौं उपत्यकाको विद्युत्को उच्चतम माग तीन हजार एक सय मेगावाट पुग्ने प्रक्षेपण गरी प्राधिकरणले थप २० वटा नयाँ सवस्टेसन निर्माण प्रक्रिया अगाडि बढाएको छ । सवस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ । कूल दुई सय २० केभी प्रसारण संरचनाले काठमाण्डौं उपत्यकाको बाहिरी परिधिलाई घेर्ने गरी ‘रिङ’ निर्माण गर्न सर्वेक्षण भइरहेको छ ।

हाल काठमाण्डौंको लप्सीफेदी, मातातीर्थ, चोभार, फुटुङ, टेकु, मूलपानी र भक्तपुरको ठिमी तथा चाँगुनारायणमा सवस्टेसन निर्माणाधीन छन् ।टेकु र चाँगुनारायण सवस्टेसन निर्माण अन्तिम चरणमा छन् । दुवै सवस्टेसन आगामी असारभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाण्डौं उपत्यकाभित्रको विद्युत्को बढ्दो माग धान्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन निर्माणाधीन सवस्टेसन आयोजना जतिसक्म्दो छिट्टो सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी दिए ।

कार्यकारी घिसिङले निर्माणाधीन टेकु, फुटुङ र चाँगुनारायण सवस्टेसनको अनुगमन भ्रमण गरी तोकिएकै समयमा सवस्टेसन निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिए ।  “यस वर्षको जाडोमा काठमाण्डौं उपत्यकामा विद्युत्को माग त्यति बढेन, यसले गर्दा विद्युत् आपूर्ति व्यवस्थापनमा सहज भयो, आगामी वर्षको जाडोलाई ध्यान दिई त्यसभन्दा अगाडिनै सवस्टेसनको निर्माण सक्नुपर्छ”, कार्यकारी निर्देशक घिसिङले भने, “टेकु र फुटुङ सवस्टेसन निर्माण सम्पन्न भएपछि काठमाण्डौंको विद्युत् माग र आपूर्तिको व्यवस्थापनमा धेरै सहज हुन्छ ।”

टेकुस्थिति ६६\११ केभी सवस्टेसनको सुदृढीकरण गरी १३२\११ केभी र फुटुङमा १३२\११ केभीको नयाँ सवस्टेसन निर्माण भइरहेका छन् । दुवै सवस्टेसनमा ४५\४५ एमभिए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर राखिने छ ।

बालाजु–चपली १३२ केभी डबल सर्किट प्रसारण लाइनलाई फुटुङ सवस्टेसनमा ‘ट्यापिङ’ गरी त्यस क्षेत्रमा विद्युत् आपूर्ति गरिने छ । टेकु सवस्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि नौ वटा नयाँ फिडर निकालिने छ, जसले काठमाडौँको केन्द्र भागको विद्युत् आपूर्तिलाई सहज बनाउने छ ।

काठमाण्डौं उपत्यकाको विद्युत् आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र आधुनिक बनाउन नयाँ सवस्टेसन निर्माण, सञ्चालनमा रहेका सवस्टेसनलाई स्वचालित बनाउने, विद्युतीय तारलाई भूमिगत बनाउने, नयाँ फिडर तथा ट्रान्सफर्मर थप्ने तथा सुदृढीकरण गर्ने लगायतका आयोजना सञ्चालित छन् ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी, एसियाली विकास बैंक (एडिबी) र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियतपूर्ण ऋणमा प्रसारण तथा वितरण प्रणाली सुधार अगाडि बढाइएको छ ।

काठमाण्डौं उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन अन्तर्गत ललितपुरको खोकना, बुङ्मती, हरिसिद्धी र लामाटार क्षेत्रमा निर्माणमा अवरोध भएपछि काठमाण्डौंको चोभारमा १३२\११ केभी सवस्टेसन निर्माण प्रक्रिया अगाडि बढाइएको छ । सवस्टेसनमा ४५ एमभिए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर रहने छन् ।

सुख्खा बन्दरगाहा नजिक हिमाल सिमेन्टको जग्गामा सवस्टेसन निर्माणका लागि आवश्यकपर्ने १२ रोपनी जग्गाप्राप्तिको प्रक्रिया अगाडि बढिरहेको छ । मातातीर्थबाट चोभारसम्म १३२ केभी प्रसारण लाइन बनिसकेको छ । चोभारमा सवस्टेसन बनाइ चक्रपथ हुँदै १३२ केभी भूमिगत लाइन बनाउँदै ललितपुरको लगनखेल सवस्टेसनमा पु¥याइने छ ।

लगनखेल सवस्टेसनलाई सुदृढीकरण गरी १३२ केभी बनाइँदै छ । त्यसपछि आगामी दिनमा त्यहाँबाट भूमिगत रुपमा चापागाउँ र हरिसिद्धीमा लाइन लगिने छ । ललितपुर क्षेत्रमा स्यूचाटार–पाटन–बानेश्वर ६६ केभी लाइनबाट विद्युत आपूर्ति भइरहेको छ । यो लाइन अहिले नै ‘ओभर लोडेड’ छ ।

स्थानीयको अवरोधका कारण लप्सीफेदी ४०० र २२०\१३२\११ केभी सबस्टेसन निर्माण सुरु हुनसकेको छैन । तामाकोसी र सुनकोसी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाको विद्युत काठमाण्डौं उपत्यकामा वितरणका लागि लप्सीफेदी सवस्टेसन निर्माण गर्न लागिएको हो लप्सीफेदीबाट चाँगुनारायण सवस्टेसनसम्मको करिब १० किलोमिटर प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध छ । रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ वैशाख २०८०, सोमबार  १३ : ४५ बजे