राजेशबाबु श्रेष्ठ अस्ट्रियाका राष्ट्रपतिबाट सम्मानित

0
Shares

नेपालका लागि संघीय गणतन्त्र अस्ट्रियाका अवैतनिक बाणिज्यदूत राजेशबाबु श्रेष्ठ अस्ट्रियाका राष्ट्रपतिबाट विभूषित भएका छन् । नेपालमा रहेर मित्रराष्ट्र अस्ट्रियाका लागि गरेको सेवाबापत श्रेष्ठले राष्ट्रपतिबाट प्रदान गरिने प्रतिष्ठित विभूषण ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पाएका हुन् । यो अस्ट्रिया राज्यले प्रदान गर्ने सम्मान हो ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको समुपस्थितिमा नेपालका लागि गणतन्त्र अस्ट्रियाका राजदूत क्याथरिना विजरले श्रेष्ठलाई विभूषण हस्तान्तरण गरेकी हुन् । यसअघि सन् २०१३ मा नेपालका लागि अस्ट्रियाका तत्कालीन अवैतनिक बाणिज्यदूत स्व।लक्ष्मणबाबु श्रेष्ठलाई अस्ट्रिया सरकारले ‘डेकोरेसन अफ अनर इन गोल्ड’बाट विभूषित गरेको थियो ।

सम्मान हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै सम्मानित व्यक्तित्व श्रेष्ठले भौगोलिक अवस्थिति, हिमालय र अतिथि सत्कारको परम्परामा नेपाल र अस्ट्रियाबीच समानता रहे पनि आर्थिक विकासको सन्दर्भमा अस्ट्रियाले ठूलो प्रगति हासिल गरेको बताए । आर्थिक समृद्धि हासिल गर्ने सन्दर्भमा नेपालले अस्ट्रियाबाट धेरै कुरा सिक्न सक्ने पनि उनले बताए ।

पर्यटन, सुरुङ र हिमाली पूर्वाधार, जलविद्युत् तथा स्वच्छ ऊर्जा जस्ता क्षेत्रमा अस्ट्रियाबाट नेपालले धेरै अनुभव लिन सक्ने उनको भनाइ छ ।
सो अवसरमा श्रेष्ठले मित्रराष्ट्र अस्ट्रियाले नेपाललाई गरेको सहयोग, विशेष गरी सांस्कृतिक सम्पदाको पुनःनिर्माण र संरक्षणको क्षेत्रमा गरेको सहयोगको पनि स्मरण गरे ।

‘केशरमहलस्थित स्वप्न बगैंचा र पाटन संग्रहालय यसका ठोस उदाहरण हुन्,’ श्रेष्ठले भने, ‘कोभिड–१९ महामारीका बेला पनि मित्रराष्ट्र अस्ट्रियाले नेपाललाई उदारतापूर्वक सहयोग गरेको छ ।’ पछिल्लो सहायतामा अस्ट्रियाले नेपाललाई कोभिड–१९ को ४ लाख थान फाइजर खोप उपलब्ध गराएको छ । अस्ट्रियाले उपलब्ध गराएको खोप युरोपेली संघमार्फत संयुक्त राष्ट्रसंघको कोभ्याक्सअन्तर्गत नेपाललाई प्राप्त भएको हो ।

नेपाल र अस्ट्रियाबीच ६४ वर्ष पुरानो सुमधुर दौत्य सम्बन्धको इतिहास छ । आगामी दिनमा यो सम्बन्ध राजनीतिक, आर्थिक, सामाजिक र जनस्तरमा अझ बलियो बन्दै जाने विश्वास पनि उनले व्यक्त गरे ।

कार्यक्रममा नेपालका लागि अस्ट्रियाका राजदूत विजरले सन् २००७ मा लक्ष्मणबाबु श्रेष्ठ नेपालका लागि अस्ट्रियाका अवैतनिक दूत नियुक्त भएपछि अस्ट्रियाले उनले र पछि हालका अवैतनिक दूतबाट पाएको सहयोगको प्रशंसा गरे । कोभिड–१९ महामारीका बेला अवैतनिक दूत श्रेष्ठले नेपालमा रहेका अस्ट्रियाका नागरिकलाई गरेको सहयोग अविस्मरणीय रहने पनि उनले बताए । श्रेष्ठ मनकामना दर्शन प्रालिका प्रबन्ध निर्देशक छन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।