हिमालयन लाइफको अध्यक्षमा अग्रवाल, सीईओमा कर्ण

0
Shares

साविकको युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्सबीच मर्जर भई मंगलबारदेखि एकीकृत कारोबार थालेको हिमालयन लाइफ इन्स्योरेन्समा नयाँ सञ्चालक समिति चयन भएको छ ।

एक बराबर एकको समान सेयर स्वापमा गाभिएका तीन कम्पनीहरुको तर्फबाट २।२ जना गरी ६ सदस्यीय सञ्चालक समिति गठन भएको हो । संयुक्त मर्जर कमिटीले तीन वटै कम्पनीबाट २-२ जनाका दरले सञ्चालकमा प्रतिनिधित्व हुने गरी सञ्चालक समिति गठन भएको हो । स्वतन्त्र सञ्चालक भने नियुक्त गर्न बाँकी छ ।

मर्जरपछि बनेको हिमालयन लाइफको अध्यक्षमा सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्ण चयन भएका छन् । अग्रवाल र कर्ण दुबै साबिक युनियन लाइफका अध्यक्ष र सीईओ हुन् ।

यस्तै कम्पनीको सञ्चालक समितिमा साविकको प्राइम लाइफको तर्फबाट राजिव प्रसाद प्याकुरेल र प्रमिला केसी थापा, चयन हुँदा गुराँस लाइफको तर्फबाट विवेक दुगर र सौरभ दुगर नियुक्त भएका छन् । साविक युनियन लाइफको तर्फबाट अध्यक्ष अग्रवाल सहित जीवन कुमार अग्रवाल नियुक्त भएको छन् । नयाँ कम्पनीमा कम्पनी सचिवको जिम्मेवारी पनि युनियन लाइफका इश्वर कुमार सेढाइले पाएका छन् ।

‘हिमालयन लाइफ’ को एकीकृत कारोबार सुरु, बन्यो जीवन बीमाकै दोस्रो ठूलो कम्पनी

यस्तै हिमालयन लाइफको नायव प्रमुख कार्यकारी अधिकृतमा साविक गुराँस लाइफका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लाल कर्ण र साविक युनियन लाइफका कपिल कुमार दाहाल चयन भएका छन् । साविक प्राइम लाइफका प्रमुख कार्यकारी अधिकृत निर्मल कुमार दाहालले दोस्रो वरियतामा नबस्न भन्दै राजीनामा दिएर बाहिरिएका छन् ।

नेपाल बीमा प्राधिकरणले कर्मचारीले खाईपाई आएको सुविधा घटाउन नपाउने व्यवस्था गरेपछि मर्जरका क्रममा कुनै पनि कर्मचारीको पद घटुवा भएको छैन । प्राधिकरणको व्यवस्था बमोजिम मर्जरका क्रममा कुनै पनि कर्मचारीको साविक कम्पनीमा काम गर्दाको पद नै निरन्तर रहने तथा खाइपाइआएको तलब भत्ता सुविधामा कटौती गर्न पाइँदैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।