बीमा क्षेत्रको प्रभावकारी नियमन आवश्यक : अर्थमन्त्री महत


अर्थमन्त्री डा प्रकाशशरण महतले बीमा व्यवसाय क्षेत्रको प्रभावकारी नियमन आवश्यक रहेको बताएका छन् ।

नेपाल बीमा प्राधिकरणको ५५औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गदै अर्थमन्त्री डा महतले बीमा क्षेत्रको नियामकका रुपमा रहेको प्राधिकरणले आफ्नो व्यावसायिकता पूरा गरे–नगरेको बारे समीक्षा गर्नुपर्ने बताए ।

“पुरातन शैलीले नभई अब नवीनतम प्रविधिको प्रयोगमार्फत स्वस्थ, प्रतिस्पर्धी र ग्राहकको सुरक्षालाई ध्यानमा राखी बीमा व्यवसाय चलाउन नियामकको भूमिका बलियो बनाउन आवश्यक छ”, उनले भने ।

बीमा व्यवसाय विस्तार गरेर लागत कम गर्नुपर्ने उनको भनाइ छ । बीमा कम्पनीको सङ्ख्या धेरै भएकाले यो व्यवसायलाई थप मजबुद र प्रतिस्पर्धी बनाउन मर्जरको नीति लिइनुपर्ने पनि मन्त्री महतले बताए । “यति धेरै बीमा कम्पनीलाई लाइसेन्स दिनु ठीक थिएन । बीमा पोलिसी दिँदा जे जस्ता सेवासुविधा दिने भनेर प्रतिबद्धता जनाएका छन्, त्यो कार्यान्वयन भए\नभएको बारे नियामकले नियमन गर्न आवश्यक छ”, उनले भने ।

सार्वजनिक संस्थानमा चरम राजनीतिक हस्तक्षेप हुँदा व्यावसायिकता खुम्चिँदै गएको अर्थमन्त्री डा महतको भनाइ छ । त्यस्तै, स्वास्थ्य बीमालगायत सामाजिक सुरक्षाको दायित्व बढेको उनले बताए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बीमा र वित्तीय क्षेत्रको नियमनका लागि वित्तीय क्षेत्र विकास रणनीतिको प्रभावकारी कार्यान्वयनको आवश्यकता औँलाए । प्राधिकरणले नियामकका रुपमा स्वतन्त्र ढङ्गले आफ्नो काम गर्नुपर्नेमा उनले जोड दिए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ जेठ २०८०, मंगलबार  ०६ : ०८ बजे