आर्थिक मन्दीका कारण बाँकेमा आठवटा सहकारी एकीकरण


बाँकेका आठवटा सहकारी एकीकरण भएका छन् । सोमबार शमशेरगञ्जमा आयोजित कार्यक्रममा आठवटा सानाकिसान सहकारी संस्था अष्टम सानाकिसान कृषि सहकारी संस्थामा एकीकरण भएका हुन् ।

कोरानापछि देशमा भएको आर्थिक मन्दीका कारण सहकारीहरु चुस्तदुरुस्त तरिकाले सञ्चालन हुन नसक्दा सानाकिसान कृषि सहकारी संस्था लिमिटेडको अगुवाइमा एकीकरण भएको बताइएको छ ।

एकीकरण हुनेमा महादेवपुरी राप्ती सोनारी–८स्थित सानाकिसान कृषि सहकारी संस्था लि, बैजनाथ–६ स्थित लगनशील सानाकिसान कृषि सहकारी, बैजनाथ–८स्थित महिला सानाकिसान कृषि सहकारी, राप्ती सोनारी–४ स्थित सूर्यलक्ष्मी सानाकिसान कृषि सहकारी, राप्ती सोनारी–५ स्थित सौगात सानाकिसान कृषि सहकारी, खजुरा–२ स्थित नवज्योति सानाकिसान कृषि सहकारी, खजुरा–८ स्थित हातेमालो सानाकिसान कृषि सहकारी र जानकी–६स्थित आपसी मेलमिलाप सानाकिसान कृषि सहकारी संस्था रहेका छन् ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सभासद् दुर्गा चौधरीले नामका लागिमात्र किसान बनेर खेत बाँझो राखेका कारण राज्यले किसानका लागि सहयोग गर्न नसकेको बताए । किसान हुँ भन्ने तर आफ्ना लागि खाने तेलसम्म किन्ने परिपाटीले कृषि र सहकारीमा लगानी बढ्न नसकेको उनले उल्लेख गरे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।