पश्चिमा देशहरुले प्रतिबन्ध लगाउँदा रुस-चीनको व्यापारिक सम्बन्ध प्रगाढ

0
Shares

रुसले युक्रेनमा विशेष सैनिक आक्रमण सुरु गरेपछि पश्चिमा देशहरुले रुससँगको ब्यापारमा प्रतिबन्ध लगाएका छन् । पश्चिमा देशहरुले व्यापारमा प्रतिबन्ध लगाउँदा रुस र चीनबीचको व्यापार आकाशिएको छ ।

रुस विश्वको तेस्रो ठूलो पेट्रोलियम पदार्थ उत्पादक देश हो । पश्चिमा मुलुकले व्यापार प्रतिबन्ध लगाएपछि रुसले चीन र भारतसँग व्यापार विस्तार गरेको छ । सन् २०२२ मा मात्रै चीन र रुसबीच १९० अर्ब डलर बराबरको व्यापार भएको चीनको भन्सार विभागको तथ्यांकले जनाएको छ । सन् २०२१ को तुलनामा सन् २०२२ मा रुस–चीनबीचको व्यापार ३० प्रतिशतले बढेको हो ।

भ्रमणको क्रममा चीन पुगेका रुसी प्रधानमन्त्री मिखाइल मिसुस्तीनले आगामी समयमा चीनसँगको व्यापारिक सम्बन्ध अझ प्रगााढ बन्दै जाने बताएका छन् ।

चिनियाँ प्रधानमन्त्री लि कियाङसँगको भेटवार्तामा मिसुस्तीनले सन् २०२३ मा दुई देशबीचको व्यापार वृद्धि गरी २०० अर्ब डलर पु¥याउने लक्ष्य लिएको बताए । चीनसँग गरेको इन्धन व्यापारको सम्झौता रुसले प्राथमिकतामा राखेको छ ।

रुसले पेट्रोलियम पदार्थका साथै रासायनिक मल, चीप उत्पादनका लागि आवश्यक पर्ने धातु र सवारी साधनको उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थको निर्यात समेत गत वर्षको तुलनामा बढाएको छ ।

चीनले रुसबाट सुपथ मूल्यमा इन्धन आयात गरिरहेको छ । पश्चिमा राष्ट्रमा पेट्रोलियम पदार्थको माग अनुसारको आपूर्ति नहुँदा मूल्यवृद्धि आकाशिएको छ भने रुसले चीनलाई सहज तरिकाले सस्तो मुल्यमा पेट्रोलियम पदार्थ उपलब्ध गराइरहेको छ ।

चीनसँगको व्यापारिक सम्बन्धका कारण रुसले पश्चिमा मुलुकहरुले लगाएको प्रतिबन्धको डटेर सामना गरिरहेको छ । रुस र चीनबीच रुसी रुबल र युवानमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।