जनकपुरधामका वडाअध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरधाम उपमहानगरपालिका सचिव माधव कुमार राय र वडा अध्यक्ष अर्जुन कुमार चौधरीविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग ५० हजार घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा उनीहरुविरुद्ध आरोप पत्र दायर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटेको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । आयोगले आज बिशेष अदालत काठमाण्डौंमा आरोपपत्र दायर गरेको प्रवक्ता भोला दाहाले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

‘अनुसन्धानको सिलसिलामा जिल्ला धनुषा, जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष अर्जुन कुमार चौधरी र सोही वडाका वडा सचिव माधव कुमार रायले सहिछाप गर्नको लागि सेवाग्राहीसँग घुस माग गरी लिएको पुष्टि हुन आएकोले आरोप पत्र दायर गरिएको छ’ विज्ञप्तीमा भनिएको छ ।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको हुँदा बिगो ५० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (ख) बमोजिम कैद सजाय गरी जरिवाना सजाय समेत हुन मागदावी गरिएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।