एक सय ४ किलोमिटर नयाँ सडक थपियो, रेलमार्ग भने २ किलोमिटर मात्रै

0
Shares

सरकारले चालु आर्थिक वर्षको ८ महिनासम्ममा १०४ किलोमिटर नयाँ सडक थप गरेको छ । चालु आवमा थपिएको सडक सहित सरकारले निर्माण गरेको सडकको कुल लम्बाई ३४ हजार १ सय किलोमिटर पुगेको हो ।

२०७९ फागुनसम्म १७ हजार ४ सय ८० किलोमिटर कालोपत्रे, ७ हजार ९ सय ५६ किलोमिटर ग्रावेल र ८ हजार ६ सय ६४ किलोमिटर कच्ची सडक रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । कुल सडकमध्ये कालोपत्रे ५१.३ प्रतिशत, ग्रावेल २३.३ प्रतिशत र कच्ची सडक २५.४ प्रतिशत रहेको छ । २०७९ असारसम्म सडकको कुल लम्बाइ ३३ हजार ९ सय ९६ किलोमिटर रहेको थियो ।

चालु आर्थिक वर्षको फागुनसम्म ३१६ किलोमिटर सडक ग्रावेल स्तरमा र २४८ किलोमिटर सडक कालोपत्रे स्तरमा स्तरोन्नति भएको छ । साथै, ८ हजार २ सय ५४ किलोमिटर सडकको नियमित तथा पटके मर्मत भएको छ भने २ सय ७८ किलोमिटर सडकको आवधिक मर्मत सम्पन्न भएको छ । चालु आवको फागुनसम्ममा ७५ पुलको निर्माण सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा २८० किलोमिटर नयाँ सडक निर्माण भएको थियो । यस अवधिमा ३३५ किलोमिटर खण्डास्मित स्तरमा स्तरोन्नति र ६१८ किलोमिटर कालोपत्रे स्तरमा सडक स्तरोन्नति भएको थियो ।

साथै, ७,८०० किलोमिटर सडकको नियमित तथा पटके मर्मत भएको थियो भने २५० किलोमिटर सडकको आवधिक मर्मत सम्पन्न भएको थियो । सो अवधिमा २८२ पुलको निर्माण सम्पन्न भएको थियो ।

चालु आर्थिक वर्षको ८ महिनामा सरकारले २ किलोमिटर मात्र रेलमार्ग विस्तार गरको छ । पूर्व पश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत बर्दिबास–निजगढ खण्डमा २०७९ असारसम्म ५२.५ किलोमिटर ट्रयाक बेड र ५ रेल्वे पुल निर्माण भएकोमा २०७९ फागुनसम्म ५४.५ किलोमिटर ट्रयाक बेड तथा ७ पुलको निर्माण कार्य सम्पन्न भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।