किसानलाई अनुदानमा दुहुनो भैँसी


गोरखाको सहिद लखन गाउँपालिकाभित्रका किसानलाई अनुदानमा दुहुनो भैँसी वितरण गरिएको छ ।

गाउँपालिकाको वडा नं ७ स्थित बुङकोटका आठ किसानलाई अनुदानमा पाडापाडीसहितको उन्नत जातको दुहुनो भैँसी वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिए ।

गाउँपालिकाले पालिकालाई मासु र दूधमा आत्मानिर्भर बनाउन जोड दिँदै आएकाले पशुपालक किसानलाई पशुपालनका लागि प्रोत्साहन गर्न ५० प्रतिशत अनुदानमा दुहुनो भैँसी वितरण गरेको उनको भनाइ छ ।

“गाउँपालिकाले ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत लागत साझेदारीमा दुहुनो भैँसी वितरण गरिएको हो”, उपाध्यक्ष तिवारीले भने, “कार्यक्रमअन्तर्गत १२ जना किसान छनोटमा परेको भए पनि चार जनालाई भने वितरण गर्न बाँकी छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०७९÷८० का लागि स्वीकृत पशुपालन भैँसी प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई दुहुनो भैँसी वितरण गरिएको उनले बताए । किसानलाई उत्पादनसँग जोडदै आत्मनिर्भर बनाउने उद्देश्यका साथ दुहुनो भैँसी वितरण गरिएको उनको भनाइ छ । “दुहुनो भैँसी वितरण गरेपछि पालिकामा दुग्ध उत्पादनसमेत वृद्धि हुने र कृषकलाई आर्थिक आयआर्जनमा आत्मनिर्भर बनाउनसमेत सहयोग पुग्छ, उनले भने, “यसबाट मासु उत्पादनमा समेत टेवा पुग्ने गाउँपालिकाको विश्वास छ ।”

उपाध्यक्ष तिवारीले किसानलाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउँदै लैजाने गाउँपालिकाले नीति रहेकाले उत्पादनमुखी कार्यक्रम अघि सार्दै आएको बताए । अनुदानमा दुहुनो भैँसी पाएपछि किसानसमेत खुसी भएका छन् । रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।