चार वर्षभित्र टप ५ मा पुग्ने युनाइटेड अजोड इन्स्योरेन्सको उद्घोष

0
Shares

युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र अजोड इन्स्योरेन्स लिमिटेड एकआपसमा गाभिएर बनेको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको एकीकृत कारोबार सुरु भएको छ ।

२०८० जेठ १४ गते आइतबारबाट एकीकृत कारोबार शुरु गरेको कम्पनीले आगामी चार वर्षभित्र सर्वश्रेष्ठ ५ निर्जीवन बीमा कम्पनीभित्र पर्ने उद्घोष गरेको छ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आइतबार काठमाडौंमा आयोजित विशेष समारोहमा नयाँ कम्पनीका अध्यक्ष आजाद श्रेष्ठलाई इन्स्योरेन्स अपरेसन्स लाइसेन्स हस्तान्तरण गरेका थिए।

मर्जरसँगै कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड ४६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको सामान्य जगेडा कोषमा ५९ करोड ६७ लाख र बीमा कोषमा ७२ करोड ६४ लाख रुपैयाँ छ । कम्पनीको नेट वर्थ ३ अर्ब २६ करोड ३५ लाख पुगेको छ ।

त्यसैगरी शाखा संख्या १०० र कर्मचारी संख्या ५८१ कायम भएको छ । बीमालेख संख्या १ लाख ९२ हजार ८२५ र कुल प्रिमियम २३९ करोड ७९ लाख रुपैयाँ पुगेको छ । नियमनकारी निकायले तोकेका क्षेत्रहरुमा गरिएको कम्पनीको लगानी ३ अर्ब ९८ करोड ७९ लाख रुपैयाँभन्दा माथि पुगेको छ ।

समारोहलाई सम्बोधन गर्दै बीमा प्राधिकरणका अध्यक्ष सिलवालले बीमा कम्पनीहरुले ग्राहकमाझ विश्वास बढाउनुपर्नेमा जोड दिए । बीमा क्षेत्रमा असीमित जोखिम तर सीमित पैसाले गर्दा बेथिति समेत बढेको पाएपछि प्राधिकरणले कम्पनीहरु गाभ्ने नीति ल्याएको उनले बताए ।

मर्जरपछिको कम्पनीमा सिनर्जी ल्याएर उत्कृष्ट सेवा प्रदान गर्न उनले सुझाँए । उनले बीमालेखको लागत घटाउन र भइरहेका बीमालेखमा थप सुविधा के दिन सकिन्छ खोज्न पनि सल्लाह दिए । अब उप्रान्त बीमा कम्पनीहरुलाई मापदण्ड पूरा नगरी शाखा खोल्ने अनुमति नदिने पनि उनले सो अवसरमा बताए । निश्चित रकमसम्मको दाबी क्षेत्रीय कार्यालयबाट भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्ने तथा सुशासन र पारदर्शिता कायम गर्नुपर्नेमा उनको जोड छ ।

समारोहमा स्वागत मन्तव्य राख्दै युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडका अध्यक्ष रविभक्त श्रेष्ठले गुणस्तरीय सेवा दिन र बीमाको लागत घटाउन कम्पनी मर्जरमा गएको बताए । कम्पनीको पुँजी बढाएर ठूलो बनाउनुपर्ने आवश्यकता महसुस भइरहेकै बेला नियामकले चुक्तापुँजी बढाउनुपर्ने नियम ल्याएपछि दुई कम्पनीबीच मर्जर भएको उनको भनाइ छ ।

अब कम्पनीले नयाँ नयाँ क्षेत्रमा लगानी गर्र्दै लगानीकर्तालाई उच्चतम प्रतिफल र सेवाग्राहीलाई गुणस्तरीय सेवा दिने उनले बताए। भारत र बंगलादेशसँग तुलना गर्दा जनसंख्याको अनुपातमा बीमा कम्पनी धेरै भएको आफूहरुले पनि अनुभव गरेको श्रेष्ठले बताए ।

युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका अध्यक्ष आजाद श्रेष्ठले चार वर्षमा कम्पनीलाई प्रतिस्पर्धी मूल्य, स्तरीय सेवा र नविन प्रडक्टसहितको निर्जीवन बिमा सेवा दिने ५ सर्वश्रेष्ठ कम्पनीको पंक्तिमा उभ्याउने बताए ।

चार वर्षभित्रै व्यक्ति, व्यवसाय एवं संस्थाहरुलाई वित्तीय सुरक्षा प्रदान गर्दै समाजमा सकारात्मक प्रभाव ल्याउने निकायको सूचीमा कम्पनीलाई समावेश गराउने, प्रविधिको उच्चतम प्रयोग गर्दै बीमा सेवालाई डिजिटल इन्स्योरेन्समा परिणत गर्ने र चीरस्थायी एवं नैतिक तवरले कम्पनी सञ्चालन गरी असल कर्पोरेट नागरिक बनाउने योजना उनले सो अवसरमा सुनाए।

‘पुरानोको अनुभव र नयाँको भिजनको फ्युजनबाट अभूतपूर्व सिनर्जी उत्पन्न हुने हाम्रो विश्वास छ,’ समारोहमा धन्यवाद ज्ञापन गर्ने क्रममा अध्यक्ष श्रेष्ठले भने, ‘आगामी दिनमा अझ सन्तुलित र व्यावसायिक व्यवस्थापनमार्फत अगाडि बढ्दै सर्वश्रेष्ठ सेवाको ग्यारेन्टी गर्नेछौं । उपलब्ध आधुनिक प्रविधिको अधिकतम उपयोग गर्दै देशका दूर दराजसम्म बीमा सेवा विस्तार गर्नेछौं ।’

सेवा प्रवाहलाई अझ छिटो छरितो र विश्वसनीय बनाउँदै मित्रवत् वातावरणमा सेवा प्रवाह एवं दाबी भुक्तानीलाई शीघ्र र सहज बनाउनेतर्फ केन्द्रित हुने पनि उनले बताए ।

कम्पनीलाई नयाँ उचाइमा पु¥याउन स्पष्ट भिजन, नवीन कार्यशैली, अटल इमानदारी र समर्पणका साथ अघि बढ्ने उनकोे भनाइ छ । ‘राज्यलाई सक्दो बढी योगदान र शेयरधनीलाई उच्चतम प्रतिफलको ग्यारेन्टी गर्नुपर्ने कुरालाई हमेसा मनमा राखेर कदम चाल्नेछौं,’ अध्यक्ष श्रेष्ठले थपे ।

निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कम्पनीलाई शुभकामना दिने क्रममा नयाँ कम्पनीलाई अनुमति दिँदा नियामकले विचार पु¥याउनुपर्ने बताए । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले बीमा कम्पनीहरु बीमा सेवा नपुगेको जनसंख्यामा पुग्नुपर्नेमा जोड दिए ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १५ जेठ २०८०, सोमबार  ११ : ५७ बजे