कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास, नारायणगढ बुटवल खण्डलाई ३१ अर्ब २ करोड


सरकारले राजमार्ग र रणनीतिक सडकअन्तर्गत आगामी आर्थिक वर्षमा १५० वटा पुल निर्माण कार्य सम्पन्न गरिने जनाएको छ ।

आगामी आर्थिक वर्ष २०८०\०८१ का लागि बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महतले पुल निर्माणका लागि दुई अर्ब आठ करोड विनियोजन गरेको बताए ।

यस्तै, सूर्यविनायक धुलिखेल सडक खण्डको विस्तार कार्य अघि बढाउन आवश्यक रकम समेत सरकारले विनियोजन गरेको छ । काठमाण्डौं चक्रपथको कलङ्की बसुन्धरा खण्डको सडक विस्तार तथा निर्माण कार्यलाई तीव्रता दिन दुई अर्ब सात करोड छुट्टयाएको छ ।

राष्ट्रिय राजमार्गमा आवश्यकताअनुसार फ्लाइओभर र अन्डरपास निर्माण गरिने, ललितपुरको ग्वार्कोमा फ्लाईओभर निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने जनाएको छ । यस्तै कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास निर्माण कार्य सुरुवात गरिने समेत सरकारले जनाएको छ ।

यसैबिच नारयणगढ बुटवल खण्ड सडक विस्तारलाई ३१ अर्ब २ करोड पूर्व पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीव्रता दिइने अर्थमन्त्री  महतले बताएका छन् । नारायणगढ-बुटवल र कमला-कञ्चनपुर खण्डको विस्तार तथा स्तरोन्नतिको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ। कमला ढल्केवर-पथलैया, वुटवल-गोरूसिङ्गे, काकडभिट्टा-लौकही, पथलैया-नारायणगढ र लमही-भालुवाङ्ग सडक खण्डको स्तरोन्नति सुरू गरिने भएको छ ।

नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण सुरू गरिने उनले बताएका छन् । पूर्व-पश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिका लागि ३१ अर्ब २ करोड विनियोजन गरेको अर्थमन्त्री डा. महतले जानकारी दिएका हुन् ।

नागरिक जीवनलाई सहज बनाउन तथा आर्थिक विकासको आधार तयार गर्न प्रतिफलयुक्त, सुलभ, सुरक्षित, गुणस्तरीय र दिगो यातायात पूर्वाधारमा सरकारले लगानी केन्द्रित गर्ने उनले बताए । दुर्घटना कम गर्न आवश्यक पूर्वाधार निर्माणका साथै आवश्यक नीति अगाडि बढाइने उनले बताएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।