प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता सुरु

0
Shares

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसमा भेटवार्ता सुरु भएको हो । 
 
सुरुमा प्रधानमन्त्रीस्तरमा छलफल हुने र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ । त्यसक्रममा दुई देशका आपसी हित, चासोका विविध विषयमा छलफल हुने र सहमतिमा पुग्ने कार्यसूची छ ।
 
ऊर्जा, ऊर्जा व्यापार, वाणिज्य, हवाईमार्गलगायत विषयमा महत्वपूर्ण छलफल हुने र त्यस लगत्तै विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ । यस्तै केही आयोजनाको उद्घाटन र शिलान्यासको कार्यक्रम छ । त्यसका लागि आवश्यक तयारी भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

द्विपक्षीय छलफल र भेटवार्तालगत्तै हैदरावाद हाउसमै दुवै देशका प्रधानमन्त्रीले संयुक्तरुपमा पत्रकार सम्मेलन आयोजना गर्नेछन।

प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले हैदरावाद हाउसमै दिवा भोज आयोजना गर्ने कार्यक्रम छ । दिवा भोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

प्रधानमन्त्रीस्तरीय छलफल र पत्रकार सम्मेलनपछि आजै प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेट्ने समय निर्धारण गरिएको छ ।

साँझ नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।