नारायणी मोर्डन पल्सको आम्दानीमा गिरावट, वार्षिक २ अर्ब बढीको कारोबार

0
Shares

सन् २०२२ मा नारायणी मोर्डन पल्सेस इन्डष्ट्रिजले २ अर्ब १७ करोड ८० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ । सन् २०२१ मा २ अर्ब ५५ करोड २० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी सन् २०२२ मा ३७ करोड ४० लाखले घटेको हो ।

कम्पनीको आम्दानीमा गिरावट आएता पनि ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको नाफा बढेको छ । सन् २०२१ मा कुल सञ्चालन आम्दानीको ५.९६ प्रतिशत रहेको कम्पनीको सो नाफा सन् २०२२ मा बढेर ६.९४ प्रतिशत पुगेको हो ।

सन् १९९४ मा स्थापना भएको कम्पनीले दाल, चामल लगायतका खाद्य पदार्थको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले मसूरोको दाल, केराउको दाल र मुङको दाल उत्पादन गर्दै आएको छ । कम्पनीको उत्पादन क्षमता ५० हजार मेट्रिक टन प्रतिवर्ष रहेता पनि क्षमता अनुसारको उत्पादन नहुँदा कम्पनीको आम्दानीमा गिरावट आएको छ । यस्तै कच्चा पदार्थ आयात गरी त्यसको प्रशोधन गरी बिक्री वितरण गरिरहेको कम्पनीले पछिल्लो समयमा कच्चा पदार्थको मूल्यवृद्धि हुँदा समेत कम्पनीको आम्दानीमा असर परेको छ ।

तथापि अनुभवी प्रमोटर भएका कारण आगामी समयमा कम्पनीको आम्दानीमा सकरात्मक सुधार आउने अपेक्षा गरिएको छ । कम्पनीमा चचन परिवारको लगानी रहेको छ । कम्पनीमा मोहनलाल अग्रवाल, श्रवण कुमार चचनको लगानी रहेको छ ।

विशेषतः कम्पनीले काठमाडौं, इटहरी, पोखरा, भैरहवा, नेपालगन्ज र जनकपुरमा बिक्री वितरण गर्छ । कम्पनीले १ अर्ब ८३ करोड ५५ लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर नेपालले २० करोड २० लाख बराबरको दीर्घकालीन कर्जाका लागि कम्पनीलाई डबल बी र १ अर्ब ६३ करोड ३५ लाख बराबरको अल्पकालीन कर्जाका लागि ए-४ प्लस रेटिङ गरेको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल ऋणको १.२४ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।