डिप्रोक्सले आदर्श लघुवित्तलाई प्राप्ती गरेर असार १ गतेदेखि कारोबार थाल्दै

0
Shares

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी असार १ गते शुक्रबारदेखि एकीकृत कारोबार थाल्ने भएको छ । कम्पनीले आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरेर संयुक्त कारोबार गाल्न लागेको हो ।

कम्पनी रजिष्ट्रारको कार्यालयले दुई लघुवित्तलाई मर्जर गई एकीकृत कारोबार सञ्चालन गर्नका लागि जेठ १८ गते बिहीबार अन्तिम स्वीकृति दिएसँगै डिप्रोक्सले असार १ देखि एकीकृत वित्तीय कारोबार सञ्चालन गर्न लागेको हो । दुई लघुवित्तबीच विसं २०७९ असोज १४ गते एक्विजिसन गर्ने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । डिप्रोक्सले आदर्शलाई १ः१ को समान सेयर स्वाप रेसियोमा गाभेको हो ।

यसअघि नेपाल राष्ट्र बैंकको २०८० जेठ ३ गते डिप्रोक्सलाई संयुक्त कारोबार थाल्न स्वीकृति दिएको थियो । यस्तै प्राप्ति (एक्विजिशन) गर्ने सन्दर्भमा आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको अन्तिम दिनसम्म कायम रहेका सम्पुर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु प्राप्ति (एक्विजिशन) गर्ने संस्था डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले व्यहोर्नेरसकार्ने गरी प्राप्ति (एक्विजिशन) को लागि नेपाल राष्ट्र बैंकबाट २०८० जेठ ३ गते अन्तिम स्वीकृति प्राप्त भएको थियो ।

यस्तै विसं २०७९ फागुन ३० गते सम्पन्न आ–आफ्नो वार्षिक साधारण सभाबाट डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गरेको थियो ।

राष्ट्रियस्तरको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको रजिष्टर्ड कार्यालय चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर १० मा रहेको छ भने आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको रजिष्टर्ड कार्यालय काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नम्बर ७ बनेपामा रहेको छ । प्राप्ति पश्चात् डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय रहेको चितवन जिल्लाको भरतपुर वडा नम्बर १० मा यथावत रहनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।