नेपालको सार्वभौमिक अखण्डता, स्वाधीना र स्वतन्त्रताको सम्मान गर्न माग

0
Shares

कम्युनिस्ट पार्टी निकट विभिन्न ६ वटा किसान संगठनहरुले भारतलाई नेपालको सार्वभौमिक अखण्डता, स्वाधीना र स्वतन्त्रताको सम्मान गर्न जोडदार माग गरेका छन् ।

भारतको नयाँ संसद भवनको भित्तामा विश्व सम्पदा सूचीमा समावेश भएका नेपालका प्रसिद्ध तथा ऐतिहासिक तीर्थस्थलहरू लुम्बिनी र कपिलवस्तु समेत समेटिएको ‘अखण्ड भारत’ नामको भित्ते चित्र (मुरल) अंकित गरेको भन्दै उनीहरुले अत्यन्तै गम्भीर रूपमा लिएको जनाएका हुन् ।

भारत सरकारको यो कदमले नेपालको सार्वभौमिक अखण्डता, राष्ट्रिय स्वाधीनता तथा नेपालको स्वाभीमानमाथि अपूर्व आँच पु¥याएकाले यसप्रति घोर आपत्ति जनाएका छन् । साथै भारत सरकारलाई त्यो भित्ते चित्रबाट नेपालका गौरवमय स्थलहरू लुम्बिनी र कपिलवस्तु सहितको नेपाली भूमि तत्काल हटाउन समेत माग गरेका छन् ।

राष्ट्रिय सार्वभौमिकताको यस विषयमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान अध्यक्ष महासंघ बलराम बाँस्कोटा, अखिल नेपाल किसान महासंघ (अप्फा)का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान यूनियनका इञ्चार्ज लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान संघका अध्यक्ष दुर्गाप्रसाद जैसी एक ठाउँमा आएका हुन् ।

यो विषयमा आफ्नो प्रष्ट दृष्टिकोण जनसमक्ष सार्वजनिक गर्न र देशको सार्वभौमिक अखण्डता, राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको रक्षा गर्ने दृढता प्रदर्शन गर्नका लागि नेपाल सरकार समक्ष नेपालका ६ कम्युनिस्ट पार्टी निकट किसान संगठनहरूले जोडदार आग्रह गरेका छन् ।

यस संवेदनशील विषयलाई सम्बोधन नभए राष्ट्रिय सार्वभौमिकताको प्रश्नमा समेत किसान आन्दोलनलाई अघि बढाउन बाध्य हुने उनीहरुले चेतावनी दिएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।