भ्रष्टाचारमा माओवादीकै नेता परे पनि कारबाही गर्छुः गृहमन्त्री श्रेष्ठ

0
Shares

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यले थालेको अनुसन्धान खेर नजाने बताएका छन्।

शनिबार काठमाडौंमा स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धान स्वतन्त्र र निष्पक्ष रूपमा गरी दोषीमाथि कारबाही हुने बताएका हुन् ।

सुशासन स्थापना गर्न कुनै सम्झौता नहुने उल्लेख गर्दै उनले भ्रष्टाचार र अनियमितताको घटनामा माओवादी केन्द्रकै कोही नेता परे पनि उन्मुक्ति नपाउने बताए । उनले सुशासनको स्थापना गर्दा जुनसुकै पार्टीको नेता परेपनि कारवाही गर्न पछि नहट्ने उनले प्रतिबद्धता व्यक्त गरे । उनले आफू सयौँ पटक चुनाव हार्न तयार रहेको तर निष्पक्षता र संवैधानिक मूल्य मान्यता बिर्सिन नसक्ने पनि दाबी गरे ।

“आज कुनै एउटा पार्टीको होला, भोलि मेरै पार्टीको, माओवादीको कोही पर्ला, भ्रष्टाचार काण्डमा, अनियमितताको काण्डमा परे भने आश्चर्य नमान्नुहोला, त्यो छुट दिइने छैन” गृहमन्त्री श्रेष्ठ भने, ‘त्यसरी नयाँ ढंगले काम गर्दैछौं । सबैको सहयोग चाहिएको छ । हामीले संस्थागत र प्रणालीगत रूपमा काम गर्न जरुरी छ । खबरदार अब कोही कसैले बढुवा, सरुवाको निम्ति म भन्दिन्छु भनेर नागरिक झुक्याउँछ भने दिनेलाई र लिनेलाई नि जेल हाल्छु।’

संस्थागत र प्रणालीगत रुपमा काम गर्न जरुरी रहेको औंल्याउँदै उनले आफू नियम भन्दा बाहिर गएर काम नगर्ने बताए । उनले सरुवा र बढुवाका लागि नाजायज लाभ लिने र दिनेलाई जेल चेतावनी दिए । पछिल्लो समय प्रहरी प्रशासनमा सरुवा र बढुवामा हुने लेनदेन बन्द भएको उनको दाबी थियो । “ विचौलियाले पनि पैसा लिन्छन् भन्ने सुन्दैछु, खबरदार अब कोही कसैले बढुवा, सरुवाको निम्ति म भन्दिन्छु भनेर नागरिक झुक्याउँछ भने दिनेलाई र लिनेलाई नि जेल हाल्छु । उपप्रधानमन्त्री श्रेष्ठले भने ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।