ब्याजदर घट्ने गभर्नरको संकेतले सेयर बजारमा सकारात्मक माहोल, नेप्से २५ अंकले बढ्यो

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति मार्फत ब्याजदर घटाउने संकेत दिएसँगै मंगलबार सेयर बजारमा हरियाली छाएको छ ।

सोमबार दोहोरो अंक (१७.५६) अंकले घटेको बजार मंगलबार नै २५.६६ अंकले बढेको हो । यससँगै नेप्से १९२७.६५ बिन्दुमा पुगेको छ । दोहोरो अंकले बढेको बजारमा सबै उपसूचकमा हरियाली छाएका छन् । यस्तै कारोबार रकम समेत करिब दुई अर्ब पुगेको छ ।

इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन) ले शुक्रबार आयोजना कार्यक्रममा नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारीले मौद्रिक नीति मार्फत स्थिति सहज भएको अवस्थामा बैंक ब्याजदर अझै घटाउन सकिने बताएका थिए । साथै उनले बजेटले लिएका लक्ष्यहरु प्राप्ति गर्न सघाउ पुग्नेगरी आगामी मौद्रिक नीति आउने र मौद्रिक नीति समग्र आर्थिक क्षेत्रलाई चलायमान बनाउने गरी ल्याइने बताएका छन् ।

अर्कोतर्फ पुँजीगत लाभकरलाई नै अन्तिम कर कायम गर्नुपर्ने माग गर्दै आन्दोलनरत लगानीकर्ताहरु र अर्थमन्त्री डा.प्रकाश शरण महतबीच सहमति भएपछि बजारमा सकारात्मक माहोल आइरहेको छ । आइतबार ५३ अंकको आक्रामक सुधार भएको बजारमा सोमबार १७ अंकको करेक्शन आएपनि मंगलबार सोमबारको करैक्शनभन्दा बढी बढ्नुले समेत बजारमा सकारात्मक माहोल सिर्जना भएको देखिन्छ ।

नेप्सेमा सूचीकृत २६९ स्क्रिप्टको ५५ लाख ४१ हजार ८७८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९८ करोड १० लाख १२ हजार ७०१ रुपैयाँको कारोबार भएको छ ।  कारोबारमा आएका सबै उपसूचकमा आज हरियाली छाएको छ । होटल तथा पर्यटनमुलक उपसूचक सर्वाधिक ५.६७ प्रतिशत र निर्जीवन बीमा ४.६४ प्रतिशतले बढेको छ ।

दोहोरो अंकले बढेको बजारमा न्यादी हाइड्रोपावरको सबैभन्दा धेरै ९.८५ प्रतिशतले बढेर ३०१ रुपैयाँ पुगेको छ । यस्तै सनराइज फोकस्ड इक्वीटी फन्डको इकाईमूल्य ९.२४, सोल्टी होटलको ८.७५, प्रभु इन्स्योरेन्सको ७.९९, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ७.८५ प्रतिशत, साञ्जेन जलविद्युत कम्पनीको ७.२३, रसुवागढी हाइड्रोपावरको ७.०६, रिभर फल्स पावरको ६.५१, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ६.१५ र अभियान लघुवित्तको ६.०७ प्रतिशतले बढेको छ ।

दोहोरो अंकले बढेपनि सेन्चुरी डिबेन्चर २०८८ को मूल्य सर्वाधिक ३.०४ प्रतिशतले घटेको छ । त्यस्तै, आज मनकामना स्मार्ट लघुवित्तको २.६७, गोर्खाज फाइनान्स २.४५, सर्पोर्ट माइक्रोफाइनान्स २ प्रतिशत र सिटिजन्स म्युचुअल फन्ड–२ को १.९३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

आज सोल्टी होटलको सेयमरा लगानीकर्ता झुम्मिएका छन् । सर्वाधिक कारोबार कारोबार भएको होटलको ९ करोड ६८ लाख ७२ हजार रुपैयाँमाथिको कारोबार भएको छ । यस्तै, शिवम् सिमेन्ट्सको ९ करोड १७ लाख ९६ हजार, माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ८ करोड ५६ लाख ७६ हजार, नेपाल टेलिकमको ७ करोड २९ लाख ७० हजार र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ६ करोड ४४ लाख १३ हजार रुपैयाँको कारोबार भएको छ ।

सोमबारको बजारपछि समग्र बजार पुँजीकरण २८ खर्ब १४ अर्ब १५ करोड ४५ लाख रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलबार  १५ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।