आइपीओको तयारीमा रहेको कान्तिपुर टिभीको ९ महिनाको आम्दानी २१ करोड

0
Shares

प्रिमियम मूल्यमा साढे ७ लाख कित्ता आइपीओ जारी गर्ने तयारीमा रहेको कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले आर्थिक वर्ष २०२३/२४ को ९ महिनामा २१ करोड १० लाख सञ्चालन आम्दानी गरेको छ ।

मिडिया क्षेत्रको सबैभन्दा ठूलो हस्तीका रुपमा परिचित कान्तिपुर टेलिभिजन नेटवर्कको आम्दानी गत आर्थिक वर्षको तुलनामा घटेको हो । आव २०२२/२३ मा कम्पनीले ३७ करोड ८० लाख सञ्चालन आम्दानी गरेको थियो ।

कम्पनीको आम्दानीमा कमी आएसँगै अन्य वित्तीय सूचांकमा समेत गिरावट आएको छ । गत आवमा ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा कुल सञ्चालन आम्दानीको ३१.१ प्रतिशत रहेको थियो । तथापि चालु आवको ९ महिनामा कम्पनीको सो नाफा कुल सञ्चालन आम्दानीको २२ प्रतिशत रहेको छ।

हाल कान्तिपुर टेलिभिजन नेटवर्कले कान्तिपुर टेलिभिजन र कान्तिपुर सिनेप्लेक्स एचडी सञ्चालन गरिरहेको छ ।

सन् २००० मा स्थापना भएको कान्तिपुर टेलिभिजन नेटवर्क कान्तिपुर मिडिया ग्रुपको एक हिस्सा हो ।

कान्तिपुर मिडिया ग्रुपले छापा माध्यम अन्तर्गत कान्तिपुर दैनिक र काठमाडौँ पोस्टको प्रकाशन तथा बिक्री वितरण गर्दै आएको छ भने रेडियो र अनलाइन पनि सञ्चालन गरिरहेको छ ।

कम्पनीमा कैलाश सिरोहिया लगायतका अन्य ११ सेयरधनीहरुको सेयर हिस्सा रहेको छ । तथापि कम्पनीमा सर्वाधिक सेयर हिस्सा–२९ प्रतिशत कम्पनीका प्रबन्ध निर्देशक कैलाश सिरोहियाको रहेको छ ।

प्रिमियम मूल्यमा आइपीओ ल्याउने तयारीमा रहेको कम्पनीलाई रेटिङ एजेन्सी इक्रा नेपालले बी प्लस रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।