नेपालगन्जको होटल डाइमन्ड प्यालेसको ८ महिनाको आम्दानी ७ करोड, महेन्द्रनगरमा पनि होटल निर्माण गर्दै

0
Shares

नेपालगन्जको चार तारे होटल–होटल डाइमन्ड प्यालेसले आर्थिक वर्ष २०२३/२४ को ८ महिनामा ७ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।

होटलले गत आर्थिक वर्षमा ३ करोड २० लाख सञ्चालन आम्दानी गरेको थियो । गत आवको तुलनामा चालु आवको आठ महिनामा नै होटलको सञ्चालन आम्दानी ४ करोड अर्थात् १२५ प्रतिशतले बढेको हो ।

होटलको सञ्चालन आम्दानीमा भएको वृद्धिका कारण अन्य वित्रीय सूचांक पनि आकर्षक सुधार देखिएको छ । गत आवमा होटलको ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको नाफा कुल सञ्चालन आम्दानीको १८ प्रतिशत थियो भने चालु आवमा सो नाफा कुल सञ्चालन आम्दानीको ७० प्रतिशत पुगेको छ ।

सन् २०१३ मा होटल रोजवुड एन्ड रिर्सोट लिमिटेडको नामबाट स्थापना भएको होटलको नाम परिवर्तन गरी होटल डाइमन्ड प्यालेस बनाइएको थियो ।

नेपालगन्जको होटल डाइमन्ड प्यालेसले हाल दुईवटा होटल सञ्चालन गरिरहेको छ । नेपालगन्जमा ९७ कोठा सहितको होटल सञ्चालनमा रहेको छ भने महेन्द्रनगरमा ९३ कोठा सहितको होटल निर्माण हुँदै छ । १ अर्ब २७ करोड ६० लाख लगानीमा महेन्द्रनगरमा होटल निर्माण हुँदै छ । होटलले सञ्चालन गरेको क्यासिनोका कारण भारतीय पर्यटकहरुको आगमन बढ्दै गएको छ । जसकारण कम्पनीको आम्दानी बढ्दै गएको छ ।

होटलका अध्यक्ष सुरेन्द्र बहादुर सिंह रहेका छन् भने उनकी श्रीमती शारदा देवी सिंह प्रबन्ध निर्देशक रहेकी छिन् । होटलले ७२ करोड ४६ लाख ४० हजार बराबरको कर्जाका लागि रेटिङ गराएको छ ।

७२ करोड ४३ लाख ४० हजार बराबरको दीर्घकालीन कर्जाका लागि होटललाई रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले डबल बी रेटिङ गरेको छ । यस्तै ३ लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

होटलको वित्तीय विवरण अनुसार होटलले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कसल कर्जाको ०.९२ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।