खाद्य तथा पेय पदार्थको मूद्रास्फीति साढे एक प्रतिशत विन्दुले घट्यो, सेवा क्षेत्रको बढ्यो

0
Shares

चालु आर्थिक वर्षको बैशाख महिनामा खाद्य तथा पेय पदार्थको मूल्य वृद्धि घटेको छ । यो क्षेत्रको मुद्रास्फीति चैत महिनाको तुलनामा बैंशाखमा १.३९ प्रतिशत विन्दुले घटेको हो ।

चालु आवको दश महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.५४ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ । चालु आवको चैत महिनामा यो क्षेत्रकोे मुद्रास्फीति ६.९३ प्रतिशत थियो । तर, बैंशाखमा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति समान्य बढेर ८.८९ प्रतिशत रहेको छ । चैत महिनामा भने यो क्षेत्रको मुद्रास्फीति ८.४२ प्रतिशत थियो ।

२०८० वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत रहेको छ । यो मूल्य वृद्धि गत चैत महिनाको तुसलनामा भने केही घटेको हो । चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.७६ प्रतिशत रहेको थियो । तर, गत आवको बैंशाख महिनामा यस्तो मुद्रास्फीति ७.८७ प्रतिशत रहेको थियो ।

बैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २६.६१ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको १४.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.६९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.४१ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४९ प्रतिशतले बढेको छ ।

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.७५ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १३.०८ प्रतिशत, शिक्षाको १०.५६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.६५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको ८.२७ प्रतिशतले बढेको छ ।

बैंशाख महिनामा काठमाडौं उपत्यकामा ७.६८ प्रतिशत, तराईमा ७.१५ प्रतिशत, पहाडमा ७.५७ प्रतिशत र हिमालमा ७.१२ प्रतिशत मुद्रास्फीति रहेको केन्द्रीय बैंकले जनाएको । २०७९ वैशाख महिनामा यी क्षेत्रहरुमा क्रमशः ७.३९ प्रतिशत, ८.१५ प्रतिशत, ७.८९ प्रतिशत र ८.२१ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

२०८० वैशाख महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.३१ प्रतिशत रहेको छ । गत आवको सोही महिनामा यस्तो मुद्रास्फीति १६.०६ प्रतिशत रहेको थियो।

बैशाखमा मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.०४ प्रतिशत र ४.३३ प्रतिशत रहेको छ भने उपभोग्य वस्तुको थोक मूल्य ३.१२ प्रतिशतले घटेको छ । सो अवधिमा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २.६८ प्रतिशत रहेको छ ।

२०८० वैशाख महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ७.६४ प्रतिशतले बढेको छ । गत आवको सोही महिनामा उक्त सूचकाङ्क ८.५२ प्रतिशतले बढेको थियो । बैंशाखमा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १२.३९ प्रतिशत र ६.२९ प्रतिशतले बढेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।