बाह्य क्षेत्र र तरलताको अवस्थामा देखिएको सुधारप्रति विश्व बैंक सकारात्मक

0
Shares

नेपाल राष्ट्र बैंकले अबलम्बन गरेका मौद्रिक नीतिप्रति विश्व बैंक सकारात्मक देखिएको छ । राष्ट्र बैंकले मौद्रिक तथा अन्य नीति मार्फत अर्थतन्त्रको बाह्य क्षेत्र र तरलताको दबाबमा सुधार ल्याएको विश्व बैंकले जनाएको हो ।

नेपाल राष्ट्र बैंकले कुसलता पुर्वक नीति तर्जुमा तथा कार्यान्वयन गरेकाले बाह्य क्षेत्रलाई पुरानो अवस्थामा फर्काउन सकेको विश्व बैंक, दक्षिण एसियाका उपाध्यक्ष मार्टिन रेजरले बताए । शुक्रबार नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी र विश्व बैंक, दक्षिण एसियाका उपाध्यक्ष मार्टिन रेजर बीचको भेटमा रेजरले केन्द्रीय बैंकको प्रसंशा गरेका हुन ।

भेटवार्तामा नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थिति, वित्तीय क्षेत्रका चुनौती, विद्युतीय भुक्तानीको विकास र आगामी आर्थिक कार्यदिशाका विषयमा छलफल भएको केन्द्रीय बैंकले जनाएको छ । भेटका अवसरमा गभर्नर अधिकारीले नेपालको वर्तमान वित्तीय स्थितिसँगै वित्तीय समावेशीकण, नियामकीय र सुपरिवेक्षकीय सुधारका प्रयास, विद्युतीय भुक्तानी प्रणालीको विकासलगायत नेपाल राष्ट्र बैंकका नीतिगत प्राथमिकताबारे जानकारी गराएका थिए ।

उपाध्यक्ष रेजरले राष्ट्र बैंकले अवलम्बन गरेको मौद्रिक नीति र अन्य नीतिगत व्यवस्थाको प्रशंसा गर्दै बाह्य क्षेत्र र तरलताको अवस्थामा देखिएको सुधारलाई विश्व बैंकले सकारात्मक रूपमा लिए बताए । नेपालको समग्र वित्तीय क्षेत्र सुधारसँगै ग्रीन फाइनान्स र लघुवित्तको प्रवद्र्धन, विद्युतीय भुक्तानीको प्रवद्र्धन तथा सम्पत्ति शुद्धीकरण निवारणमा आवश्यक सहयोग गर्न विश्व बैंक प्रतिबद्ध रहेको धारणा उनले राखेका थिए ।

भेटवार्तामा मौद्रिक नीति र वित्त नीतिको समन्वय, कर्जाको स्थिति, आर्थिक वृद्धिलगायतका विषयमा समेत छलफल भएको केन्द्रीय बैंकले जनाएको छ । भेटमा राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रसँगै बैंकका उच्च अधिकारीहरू उपस्थिति थियो । यसै गरी, विश्व बैंकका नेपालस्थित कन्ट्री डाइरेक्टर फारिस हदाद जेर्वोस, अपरेसन्स म्यानेजर लादा स्टे«लकोभा, अन्तर्राष्ट्रिय वित्त निगमका नेपाल प्रतिनिधि बाबाकर सेदिख फाय लगायतका अधिकारीको उपस्थिति थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।