शिवश्री हाइड्रोको आईपीओ बाँडफाँड गर्न धितोपत्र बोर्डको निर्देशन


नेपाल धितोपत्र बोर्डले शिवश्री हाइड्रोपावर कम्पनीको साधारण शेयर बाँडफाँड गर्न निर्देशन दिएको छ ।

शिवश्रीको साधारण शेयर निष्काशनका लागि नियम अनुसार भएका सहमति तथा सम्झौता अनुसार नै बाँडफाँड गर्नका लागि बोर्डले निर्देशन दिएको हो ।

धितो पत्र बोर्डका प्रवक्ता निरज गिरीले नोटबजारलाई दिएको जानकारी अनुसार नियम अनुसार हाइड्रोको साधारण शेयर बाँडफाँड गर्न निर्देशन दिइएको हो ।

‘ नियम अनुसार शेयर बाँडफँड गर्नका लागि हामीले निर्देशन दिएका हौं,’ प्रवक्ता गिरीले भने ।

शिवश्रीको बिक्री नभएको साधारण शेयर प्रत्याभुतीकर्ताले स्वीकार्न नमाने पछि शेयर बाँडफाँड अन्यौलमा परेको थियो ।

शिवश्रीले साधारण शेयर निष्काशनका लागि मुक्तिनाथ (तत्कालिन भिबोर क्यापिटल) र सिबिआईएल क्यापिटलसँग प्रत्याभुती सम्झौता गरेको थियो । साधारण शेयर निष्काशनभन्दा केही समय पहिले हाइड्रोपावरको पुर्वाधारमा प्राकृतिक विपत्तीले क्षती पुगेको भन्दै प्रत्याभुतीकर्ताले सम्झौता बमोजिम बिक्री नभएको साधारण शेयर प्रत्याभुत गर्न अस्वीकार गरेका थिए । जसका कारण शेयर बाँडफाँड हुन सकेको थिएन ।

शिवश्रीको बिक्री नभएको झण्डै २४ करोड रुपैंयाको शेयर मुक्तिनाथ र सिबिआईएल क्यापिटलले प्रत्याभुत गर्न अस्वीकार गर्दै धितोपत्र बोर्डमा निवेदन दिएका थिए । दुवै क्यापिटलले शेयर निष्काशन हुनु पहिले नै हाइड्रोको पुर्वाधारमा बाढीले क्षती पुर्याएको जानकारी नगराएको भन्दै बोर्ड पुगेका थिए ।

बोर्डले दुवैलाई प्रष्ट कारण खुलाउन भनेकोमा प्रत्याभुतकर्ताहरुले सोही कारण दोहोर्याउँदै बोर्डलाई जवाफ दिएका थिए ।

शिवश्री हाइड्रोले सिद्धार्थ क्यापिटलको बिक्री प्रबन्धकत्वमा असोज १६ गतेबाट साढे ३३ करोड रुपैयाँ बराबरको ३३ लाख ५१ हजार १४० कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो । सो मध्ये निष्कासन तथा बिक्री खुला भएको अवधिमा २७.०१ प्रतिशत अर्थात ९ लाख ५ हजार १७० कित्ता शेयर मात्र बिक्री भएको थियो ।

धितोपत्र बोर्डको शुक्रबारको निर्देशनसँगै दुवै क्यापिटलले बिक्री हुन नसकेको २४ लाख ४५ हजार ९७० कित्ता शेयर ५० प्रतिशतका दरले सकार्नु पर्ने भएको छ ।

यसअघि स्थानीयलाई १४ लाख ७६ हजार ४०० कित्ता साधारण शेयर निष्कासन गरेकोमा ३ लाख ३९ हजार ८३० कित्ता सेयर मात्र बिक्री भएको थियो । स्थानीयले नकिनेको ११ लाख ३६ हजार ५४० कित्ता शेयर समेत सर्वसाधारणलाई बिक्री गरिएकोे थियो ।

शिवश्रीले सिन्धुपाल्चोक जिल्लामा २२.२ मेगावटको उपर चाकु “ए” जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाले कुल लागत ४ अर्ब ९८ करोड रुपैयाँ देखाएको भए पनि गत असारमा बाढीले पुर्याएको क्षतीका कारण निर्माण अवधि लम्बिँदा लागत वढ्ने र प्रतिफल पाउने अवधि पर धकेलिने देखिएको छ ।