टोखा-छहरे सुरुङमार्ग निर्माणमा एक अर्ब बजेट विनियोजन


अर्थमन्त्री प्रकाशशरण महतले बहुउद्देश्यीय टोखा–छहरे सुरुङमार्गको निर्माणमा एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन्।

शनिबार नुवाकोटको पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनका क्रममा सुरुङमार्ग निर्माणमा उनले एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको बताउँदै यसको निर्माण प्रक्रिया यसै वर्षदेखि अघि बढाइने बताए ।

टोखा–छहरे सुरुङमार्ग नुवाकोटको मात्र आवश्यकता नभएको उनको भनाइ छ । सुरुङमार्ग चीनसँगको व्यापारलाई सहज बनाउने र पृथ्वी राजमार्गलाई जोड्ने भएकाले यो सुरुङमार्गको बहुआयमिक उपयोगिता रहेको बताए ।

यो सुरुङमार्ग निर्माणका लागि अहिले एक अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिए । “यो सुरुङमार्गको धेरै वर्षदेखि चर्चा भएको विषय हो । चर्चा भयो, ठोस पहल भएन । अहिले हामीले ठोस पहल गरेर एक अर्ब बजेट सुनिश्चित गरेका छौं । यद्यपि, यसमा विदेशी सहयोग आउने सम्भावना छ,” उनले भने, “विदेशी सहयोग आओस् नआओस्, यो सुरुङमार्ग निर्माणको प्रक्रिया हामी अगाडि बढाउँछौँ । यो नुवाकोटको आवश्यकता मात्र होइन, यो देशको आवश्यकता हो ।”

सुरुङमार्ग बन्छ भन्ने सन्देश दिनका लागि पनि यो बजेट पहिलोपटक विनियोजन गरिएको बताउँदै उनले निर्माण सम्पन्न हुनका लागि भने केही वर्ष पर्खिनुपर्ने स्पष्ट पारे । बजेटका विषयमा धेरै चर्चा परिचर्चा भएको बताउँदै उनले राजस्व कम उठेका कारण स्रोत जुटाउन कठिन रहेको बताए ।

‘स्रोत जुटाउन कठिन छ हाम्रा लागि, राजस्व कम उठेको थियो, विदेशी सहयोग, आन्तरिक ऋण जोडर बजेट बनाउनुपर्ने हाम्रो बाध्यता थियो । अझ ठूलो बजेट बनाउन प्रधानमन्त्री स्वयम चाहनु हुन्थ्यो, जनताका आवश्यकतालाई बढीभन्दा बढी पूर्ति गर्न सकौं, बाटो गाउँ गाउँमा पु¥याउन सकौं भन्ने सबैको चाहना हो । आम्दानी नभइ खर्च गर्न सकिँदैन’ मन्त्री डा. महतले भने ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।