मोवाईल व्यवसायीहरु संकटपूर्ण अवस्थाबाट गुज्रिरहेका छन्ः अध्यक्ष भट्टराई

0
Shares

नेपाल मोवाईल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले मोवाईल व्यवसायीहरु यतिबेला संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको बताएका छन् ।

मोवाईल व्यवसायी महासंघको दोस्रो साधारण सभालाई सम्बोधन गर्दै भट्टराईले वर्षेनी ४० अर्ब बढी राजश्व उठाउने र ५० हजारभन्दा बढी रोजगार प्रदान गरिरहेको भएपनि राज्यबाट अपेक्षित रुपमा सहयोग पाउन नसकिएको बताए । उनले मोबाईल बिक्रीमा अत्यन्तै कम मार्जिन रहेको, अनलाईन तथा अफ्लाईनका नाममा अव्यवसायिक प्रतिस्पर्धा बढेको, मोवाईललाई विलाशिताको वस्तुका रुपमा हेरिएका कारण आयातमा कडाई भइरहेको अवस्थाले व्यसायी संकटमा पुगेको उल्लेख गरे ।

अध्यक्ष भट्टराईले राज्यलाई कर तिरेको अनुपातका आधारमा पेशागत तथा सामाजिक सुरक्षाकाको ग्यारेण्टी गरिदिन सरकारसँग माग गरे । उनले स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्न सरकारलाई सहजीकरण गर्ने समेत बताए ।

एमडिएमएस कार्यान्वयनमा सरकार कडाईका साथ प्रस्तुत हुन्छ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मोवाईल डिभाईस म्यानेजमेण्ट सिष्टम (एमडिएमएस) कार्यान्वयनमा सरकार कडाईका साथ लागेको भन्दै यसमा सहयोग गर्न मोवाईल व्यवसायीहरुलाई आग्रह गरेकी छिन् ।

नेपाल मोवाईल व्यवसायी महासंघको दोस्रो साधारण सभालाई ललितपुरमा सम्बोधन गर्दै मन्त्री शर्माले भनिन्, ‘मोवाईल मनोरञ्जनको साधन नभई अत्यावश्यकीय साधन बनिसकेको छ, २०६३ पछि बनेको सरकारका सञ्चारमन्त्री कृष्णबहादुर महरा हुँदा ल्याइएको हात हातमा मोबाईल, घरघरमा इन्टरनेट अभियानलाई मूर्त रुप दिँदै वर्तमान सरकार फेसलेस गभर्नेन्सतर्फ उन्मुख भइसकेको छ ।’ कर छली हुन नदिन ल्याइएको प्रणाली कार्यान्वयनमा सहयोग गर्ने व्यवसायीका हितमा सरकार सहयोग गर्न सँधै तत्पर रहेको मन्त्री शर्माले बताइन् ।

उनले मोवाईल आयातलाई भन्दा बिग्रेका मोवाईललाई पुनः प्रयोग गर्न सक्ने खालको उद्योग मुलुकभित्रै सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरिन् । उनले त्यस्ता उद्योग सुरु भए रोजगारी बढ्ने र स्वदेशी मुद्रा बाहिरिन न्यूनिकरण हुने भएकाले ती व्यवसायीलाई राज्यले उचित नीतिगत सहयोग गर्न कुल बजेटको १ प्रतिशत रकम लगानी गर्ने सरकारको नीति रहेको बताए ।

आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीले विभाग र महासंघको सहकार्यमा व्यवसायीहरुलाई करसम्बन्धी विषयमा सचेतना जगाउँदै अनावश्यक झण्झटबाट मुक्ति दिने प्रतिबद्धता जनाए ।

यस्तै ललितपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्यले समाज रुपान्तरणमा मोवाईलले महत्वपूर्ण भूमिका निर्वाह गरे पनि त्यही व्यवसायबाट बाँच्ने व्यवसायीहरु समस्याग्रस्त रहेको सुन्दा दुःख लागेको बताए । कार्यक्रममा मोवाईल व्यवसायी महासंघका महासचिव रमेश कुमार घिमिरे र कोषाध्यक्ष सन्तोष घिमिरेले महासंघको गत आर्थिक वर्षको सांगठनिक तथा आर्थिक प्रतिवेदन सार्वजनिक गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।