काठमाडौं महानगरपालिकाद्धारा काठमाडौंका दुई अस्पतालमा सिलबन्दी

0
Shares

काठमाडौं महानगरपालिकाले दर्ता नवीकरण नगरी सञ्चालन भइरहेका दुई वटा अस्पताल सिल गरेको छ ।

महागरपालिकाको स्वास्थ्य संस्था अनुगमन टोलीले बौद्धमा रहेको चाइना पिपुल्स हस्पिटल र कोटेश्वरमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको हो ।

अनुगमनका क्रममा दुवै अस्पताल लामो समयदेखि दर्ता नवीकरण नगरी सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ । महानगरका अनुसार अस्पताल भित्र सञ्चालित फार्मेसी विना दर्ता सञ्चालन भइरहेको पाइएको छ ।

यसअघि महानगरपालिकाको टोलीले गरेको अनुमगनका क्रममा ओम नर्सिङ होम र हेल्पिङ ह्यान्ड अस्पतालले स्वास्थ्य सम्बन्धी ऐन र मापदण्डअनुसार १० प्रतिशत लक्षित समुदायले पाउनुपर्ने सेवा नदिएको पाइएको थियो । निरीक्षणपछि मापदण्ड अनुसार सेवा प्रवाह गर्न निर्देशन दिइएको थियो भने सुधार नगरेको खण्डमा प्रचलित कानून अनुसार कारबाही गर्ने चेतावनी समेत दिएको थियो ।

महानगरपालिकाका मेयर बालेन्द्र साहले यसअघि १० प्रतिशत लक्षित समुदायलाई स्वास्थ्यसम्बन्धी मापदण्ड अनुसार उपचार प्रदान गर्नका लागि कार्यान्वयनको माग गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर सरकारको ध्यानाकर्षण गराएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।