निरन्तर उकालो चढ्दै एशियाली सेयर बजार

0
Shares

अमेरिकी केन्द्रीय बैंक–फेडरल रिजर्भले ब्याजदर नबढाउने संकेत गरेपछि लगानीकर्ता हर्षित हुँदा एशियाली सेयर बजार निरन्तर उकालो चढिरहेको छ । यस्तै चिनियाँ केन्द्रीय बैंकले रिभर्स रिपो रेट ०.१ प्रतिशतले घटाएपछि लगानीकर्ता थप हर्षित भएका हुन् । चीनको ब्लुचीप सीएसआई ३०० सूचांक ०.०५ प्रतिशतले बढेको छ ।

मंगलबार एशिया–प्यासिफिक क्षेत्रको बृहत सेयर सूचांक एमएससीआई ०.३ प्रतिशतले बढेको छ भने जापानी सेयर सूचांक निकेईमा १.५९ प्रतिशतको सकरात्मक सुधार आएको छ । तथापि हङकङको ह्याङस्याङ सूचांक ०.२ प्रतिशतले घटेको छ । यस्तै अष्ट्रेलियाको केन्द्रीय बैंक–रिजर्भ बैंक अफ अष्ट्रेलियाले ब्याजदर बढाउँदा अष्ट्रेलियाको सेयर सूचांक ०.०३ प्रतिशतले ओरालो लागेको छ ।

यस्तै अमेरिकी सेयर सूचांक एसएन्डपी सोमबार ०.९३ प्रतिशतले बढेर बजार बन्द भएको छ भने नास्डाक् १.५३ प्रतिशत र डाउ जोन्स इन्डष्ट्रियल एभरेज ०.५६ प्रतिशतले बढेको छ ।

भारतीय सेयरसूचांक बीएसई सेन्सेक्स सूचांक ०.६२ प्रतिशतले उकालो चढेको छ भने नेपाली सेयर सूचांक नेप्से प्रि–ओपनिङमा ०.३७ प्रतिशतले बढेको छ ।

जुन १४ मा ब्याजदर बढाउने वा नबढाउने विषयमा हाल फेडरल रिजर्भका उच्च पदाधिकारीहरुको दुई दिने बैठक चलिरहेको छ ।

यस अघि फेडका अध्यक्ष जेरोम पावेलले ब्याजदर नबढाउने संकत गरेका छन् । पछिल्लो समयमा अमेरिकाको आर्थिक वृद्धि दरमा गिरावट आएको छ । जसकारण फेडले जुन १४ मा नबढाउने आकलन लगानीकर्ताले गरेका छन् । ब्याज नबढाउने आकलन गरेका लगानीकर्ता हर्षित हुँदा सेयरबजारमा हरियाली छाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।