सरकार मेरा लागि ठूलो कुरा होइन, भ्रष्टाचारीसँग सम्झौता गर्दिन : प्रधानमन्त्री


प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणमा कुनै पनि प्रकारको सम्झौता नगरिने स्पष्ट पारेका छन् ।

बुधबार बिहान पूर्व शिक्षामन्त्री एवं नेकपा (माओवादी केन्द्र) का दिवङ्गत नेता डिआर पौडेलको चौथों स्मृति दिवसका सन्दर्भमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्मृति कार्यक्रममा बोल्दै प्रधानमन्त्री ’प्रचण्ड’ले सरकार कठोर रूपमा प्रस्तुत भएकाले कुनै पनि प्रकारको सम्झौता नगरिने बताएका हुन् ।

उनले भने, “कतिपयले आशङ्का गरेको देख्छु, सरकार कतै झुक्छ कि सम्झौता गर्छ कि भन्ने । तर, प्रष्ट रूपमा भन्छु सरकार मेरा लागि ठूलो कुरा होइन । ठूलो कुरा सुशासन हो, जनताको सेवा गर्नु हो ।”

भ्रष्टाचार निर्मूल पार्न सरकार दृढतापूर्वक अगाडि बढ्ने विश्वास दिलाउँदै उनले कहीँ सम्झौता नहुने र नझुकिँदैन प्रतिबद्धता व्यक्त गरे । नयाँ परिस्थितिमा कम्युनिस्ट आन्दोलन अगाडि बढाउन आफूहरु क्रियाशील रहेको जनाउँदै अध्यक्ष दाहालले समाजवादी क्रान्ति सम्पन्न गर्न आफूहरु समाजवादी मोर्चा बनाउने प्रक्रियामा केन्द्रित भएको बताए ।

डिआर पौडेलको आकस्मिक निधनबाट पार्टीलाई अपूरणीय क्षति भएको उल्लेख गर्दै उनले आफ्नो जिम्मेवारीलाई पौडेलले निरन्तर पूरा गर्दै आएको स्मरण गरे । पूर्वमन्त्री पौडेलको स्मरण गर्दै उनले भने, “उहाँलाई जनताको बीचमा स्थापित गराउन मैले शिक्षामन्त्रीको जिम्मेवारी दिएको थिएँ। उहाँले आफ्नो जिम्मेवारीमा राम्रो पनि गर्नुभयो। डिआरको आकस्मिक निधनबाट पार्टीलाई अपुरणीय क्षति भएको छ।“

पछिल्लो समय आन्दोलनका उपलब्धिमाथि प्रहार भइरहेको उल्लेख गर्दै उनले लोकतान्त्रिक भनिएका शक्तिहरू अलोकतान्त्रिक र निकृष्ट व्यवहारमा उत्रिएका बताए ।  “नयाँ परिस्थितिमा कम्युनिस्ट आन्दोलन अगाडि बढाउनेमा छौँ। हामी समाजवादी मोर्चा बनाउँदैछौँ। समाजवादको मौलिक बाटो खोजिरहेका छौँ“ प्रधानमन्त्रीले भने, “आन्दोलनका उपलब्धिहरूमाथि प्रहार भइरहेको छ। लोकतान्त्रिक भनिएका शक्तिहरू अलोकतान्त्रिक र निकृष्ट व्यवहारमा उत्रिएका छन्। यसका विरूद्ध संघर्ष गर्दै आन्दोलनका उपलब्धिहरूको रक्षा गर्ने जिम्मेवारी हाम्रो काँधमा छ। कम्युनिस्टहरू मात्रै इमानदार र सक्षम हुन्छन् भन्ने पुष्टि गर्नुछ, तसर्थ सरकारको मोर्चालाई सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा अधिकतम सदुपयोग गर्नुपर्छ।“

कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, महासचिव देव गुरूङ, उपमहासचिवहरू हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल लगायतका नेताहरू सहभागी थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।