अनावश्यक अफवाह फैलाएर सेयर बजारमा चलखेल गर्ने क्रम बढ्यो

0
Shares

सेयर बजारमा कारोबारीहरुले अनावश्यक अफवाह फैलाएर चलखेल गर्ने क्रम बढेको छ । यसअघि कहिलेकाँही मात्रै यस्ता चलखेल हुने गरेकोमा पछिल्ला दिनहरुमा यो वा त्याे नाममा बजारमा चलखेलकाे क्रम बाक्लै देखिएको हो ।

बिहीबार पनि यस्तै अफवाह फैलाएर सेयर बजारमा चलखेल हुँदा १२.९७ अंकले बढेर २०५०.०३ बिन्दुसम्म पुगेको बजार सूचक नेप्से दुई बज्नै लाग्दा १९.३६ अंकले घटेर २०१७.७० बिन्दुसम्म ओर्लिएको हो । त्यसपछि सुधारिएको बजार ५ अंक बढेर २०४२.०७ बिन्दुमा बन्द भएको छ ।

आयकर ऐनमा ३–४ वर्षअघिदेखि नै रहेको ४० लाख भन्दा धेरै कमाउने आय विवरण बुझाउनु पर्ने व्यवस्थाको गलत अफवाह फैलाउँदै बिहीबार बजारमा कारोबारीहरुले चलखेल गरेका हुन् । यसअघि बजेट भाषणपछि सेयर कारोबारीहरुलाई ३९ प्रतिशत कर लाग्नै भन्दै बजार घटाएर कारोबारीहरुले सेयर खरिद गरेका थिए ।

बजारमा नेप्से सूचक निरन्तर बढेर बुधबार दैनिक कारोबार रकम एकैदिन ५ अर्बभन्दा बढी पुगेपछि बजार बढ्ने संकेत देखिएको थियो । यही मौकामा कारोबारीहरुले बिहीबार पुनः आन्तरिक राजस्व विभागले वार्षिक ४० लाख भन्दा धेरै आय भएका व्यक्तिको विवरण परिक्षण गर्न मातहतका संस्थालाई निर्देशनको गलत ब्याख्या गर्दै चलखेको प्रयास गरेका हुन् ।

विभागले जेठ ३० गते मंगलबार ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयहरुलाई पत्र लेख्दै ४० लाख भन्दा धेरै आय गर्ने करदाताको आय विवरण पुनः परिक्षण गर्न भनेको थियो । तर यहि सूचनालाई आधार मान्दै ४० लाखभन्दा बढी आय गर्नेले ३६ प्रतिशत कर तिर्नुपर्ने भन्दै लगानीकर्तालाई त्रसित पारिएको हो ।

यसअघि सरकारले बजेट मार्वजनिक गरेपछि सेयर लगानीकर्ताहरुले ३९ प्रतिशत कर तिर्नुपर्ने र ५६ लाख लगानीकर्ताको उठिवास लाग्ने भन्दै गरिएको आन्दोलनबाट बजार ९२ अंकले तल झरेको थियो । सामिाजिक सञ्जालबाट गलत सूचना फैलाएर बजार तल झार्ने र पुनः सेयर खरिद गरी बजार माथिल्लो बिन्दुमा पुर्याएर बिक्री गरेर फाइदा उठाउने समुहको सक्रियता बजारमा बढेको देखिएको हो ।

“पछिल्ला दिनहरुमा जे जस्ता विषयवस्तुहरु उठान भएपनि सेयर बजारसँग जोड्न क्रम बढेको छ । बजारमा आफूलाई आम लगानीकर्ताको नेता मान्दै आएका लगानीकर्ताहरु नै यस्तो काममा सक्रिय भएका देखिन्छन् । बजारमा हट केककाे रूपमा भएकाे विषयवस्तुलाई आधार लिएर सेयर बजारको आगामी अवस्था जस्तोसुकै हुनसक्नै भन्दै लगानीकर्ता त्रसित पार्ने र बजार घटाएर आफू सेयर खरिद गरेपछि पुनः बजार वृद्धि गरेर नाफा आर्जन गर्ने गरेका छन् ।” सेयर बजारमा एक दशकभन्दा बढी समयदेखि लगानी गर्दै आएका अनुभवी लगानीकर्ता भन्छन्, “त्यसैले बजारमा आउने हल्ला तथा अफवाहहरुमा सत्यता जाँच गरेर मात्र आफूले गरेको लगानी बिक्री गर्ने वा नगर्ने भन्ने निर्णय लगानीकर्ताहरु लिनुपर्ने समय आएको छ । हल्लाकै भरमा बजार घट्नै भन्दै आफूले लगानी गरेको सेयर बिक्री गर्दा मारमा तिनै साना लगानीकर्ता पर्ने गरेका छन् ”

यसदिन बजारमा २७० स्क्रिप्टको ७८ लाख ९६ हजार ४७८ कित्ता सेयर ५२ हजार ८१४ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ३ अर्ब १६ करोड २८ लाख १० हजार ८४४ रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ८५ करोड ४९ लाख ९६ हजार रुपैयाँ घटेको हो । अघिल्लो दिन बुधबार ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८३ रुपैयाँको सेयर खरिद बिक्री भएको थियो ।

बिहीबार कारोबारमा आएका २७० मध्ये ९२ कम्पनीको सेयरमूल्य बढेको छ । १६२ कम्पनीको घट्दा १६ कम्पनीको स्थीर रहेको छ । कारोबार रकमका आधारमा शिवम सिमेन्टस् शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको १७ करोड ९३ लाख ४६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै सोल्टी होटलको १६ करोड ४ लाख २ हजार, नेपाल लाइफको १४ करोड ९१ लाख ७० हजार, प्रुडेन्सियल इन्स्योरेन्सको ११ करोड ६१ लाख ८७ हजार, हिमालयन डिष्टिलरीको ९ करोड ३४ लाख ९४ हजार रुपैयाँ बराबरको सेयर हुँदै शीर्ष पाँचभित्र समेटिएका छन् । हकप्रद सुरक्षित गर्ने अन्तिम दिन रहेको नेशनल हाइड्रोपावर, सूर्यज्योति लाइफ इन्स्योरेन्स, नेपाल बैंक, अपर तामाकोशी र चिलिमे हाइड्रोपावरको पनि ५ करोडभन्दा बढीको सेयर खरिद बिक्री भएको छ ।

यस्तै कारोबारमा आएका १३ मध्ये ६ उपसमुहगत सूचकमा हरियाली छाउँदा ७ वटा घटेको छ । होटल तथा पर्यटनमुलक सर्वाधिक ४.५६ प्रतिशतले बढ्दा जीवन बीमा २.९२ प्रतिशत र निर्जीवन बीमा १.३६ प्रतिशतले बढेको छ । अन्य, उत्पादन र म्युचुअल फन्डको सामान्य बढेको छ । उता ब्यापार सूचक सर्वाधिक १.७४ प्रतिशतले घटेको छ । फाइनान्स, विकास बैंक, लघुवित्त, हाइड्रोपावर, लगानी, बैंकिङ्ग सूचक सामान्य घटेको छ ।

नेप्सेमा आएको वृद्धिले आज दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा बढेको छ । सिटि होटलको सेयर ९.९७ प्रतिशत बढेर १७८ रुपैयाँ ७० पैसा पुग्दा अभियान लघुवित्तको ९.२० प्रतिशतले बढेर ७६० रुपैयाँ पुगेको छ । यस्तै विपीडब्लू लघुवित्त ८.२०, कालिका लघुवित्त ८.०६, सोल्टी होटको ६.८२, सूर्यज्योति लाइफ ६.०३, सामुदायिक लघुवित्त ५.९२, सानिमा रिलायन्स लाइफ ५.८०, प्रभु लाइफको ५.३२ र ५.२३ प्रतिशतले सेयरमूल्य बढेको छ ।

उता बिहीबारको बजारमा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको ५.८६ प्रतिशत, मल्टिपपर्स फाइनान्स ३.८८ प्रतिशत, मिर्मिरे लघुवित्तको सेयरमूल्य ३.८१ प्रतिशत, साधना लघुवित्तको ३.८१ प्रतिशत, एनएमबि माइक्रोफाइनान्स ३.४१ प्रतिशत, माइखोला हाइड्रोपावर ३.३९ प्रतिशत, नबिल ब्यालेन्स्ड फन्ड–२ को ३.१८, प्रभु स्मार्ट फन्ड ३.१३, युनियन हाइड्रोपावर ३ प्रतिशत र एशियन हाइड्रोपावरको २.९५ प्रतिशतले मूल्य घटेको छ ।

आज कारोबार संख्यामा आधारमा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र कारोबार कित्ताका आधारमा सोल्टी होटल शीर्ष स्थानमा रहेको छ । भूगोल इनर्जीको २ हजार २१७ वटा संङ्ख्यामा सेयर खरिद बिक्री हुँदा सोल्टीको ४ लाख १२ हजार ४०५ कित्ता सेयर खरिद बिक्री भएको छ ।

बिहीबारको कारोबारपछि समग्र बजार पूँजीकरण २९ खर्ब ८६ अर्ब १९ करोड ५८ लाख रुपैयाँमा समेटिएको छ । अघिल्लो दिनको तुलनामा बिहीबार ७ अर्ब ३१ करोडले पुँजीकरण बढेको हो । बुधबार कुल बजार पूँजीकरण २९ खर्ब ७८ अर्ब ८७ करोड ७२ लाख रुपैयाँ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।