अग्नि सिमेन्टको आम्दानी १०% ले घट्यो, निर्माण क्षेत्रको मन्दीले प्रभावित

0
Shares

अग्नि सिमेन्ट इन्डष्ट्रिजले सन् २०२२ मा १ अर्ब २१ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । सन् २०२१ मा १ अर्ब ३५ करोड २० लाख आम्दानी गरेको कम्पनीको सञ्चालन आम्दानी २०२२ मा १० प्रतिशतले घटेको हो ।

पछिल्लो समयमा पूर्वाधार विकासका कामहरुले गति लिन नसक्दा सिमेन्ट, स्टील तथा पूर्वाधार विकासका सामाग्री उत्पादन गर्ने कम्पनी समस्यामा परेका छन् ।
सन् २००७ मा स्थापना भएको सिमेन्ट उद्योगले पोर्टल्यान्ड पोज्जोलोना सिमेन्ट -पिपिसी) र अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपिसी)को उत्पादन गर्दै आएको छ ।

कम्पनीले ‘त्रिदेव’, ‘ओरियन्ट’ र ‘अग्नि’ ब्रान्ड नामबाट पिपिसी सिमेन्ट र ‘अल्फा’ ब्रान्ड नामबाट ओपिसी सिमेन्टको बिक्री वितरण गर्दै आएको छ ।
उद्योगले सन् २०१८ मा आफ्नो उत्पादन क्षमता बढाएर ९०० मेट्रिक टन पु¥याएको छ । तथापि उत्पादन क्षमता अनुसारको उद्योगले उत्पादन गर्न सकेको छैन । जसको प्रभाव उद्योगको आम्दानीमा परेको छ ।

कम्पनीका अध्यक्ष कृष्ण प्रसाद पोखरेल रहेका छन् । उनी शुभश्री सिमेन्ट उद्योगका निर्देशक हुन् । यस्तै अग्नि सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक डा.तारा प्रसाद पोखरेल हुन् ।

कम्पनीले ८० करोड ५६ लाख ६० हजार बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटीङ एजेन्सी केयर नेपालले कम्पनीलाई ११ करोड ५६ लाख ६० हजार बराबरको दीर्घकालीन कर्जाका लागि डबल बीमाइनस रेटिङ दिएको छ भने ६९ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ प्रदा गरेको हो । कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको १.३६ गुणा रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।